९४ प्रतिशत मतसहित पार्टीको नेतृत्वमा, विद्यार्थी राजनीतिदेखि सभापतिसम्मको यात्रा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित हुनुभएको छ। काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्व सम्हाल्नुभएको हो।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ मतदाता रहेकामा ७ हजार ३९ मत खसेको थियो। त्यसमध्ये थापाले ६ हजार ५८४ मत अर्थात् ९३.८८ प्रतिशत मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी खड्गीले ३७५ मत प्राप्त गर्दा ५४ मत बदर भएका थिए। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गर्नुभयो।



यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिभित्रको असहमतिबीच विशेष महाधिवेशन आयोजना गरी थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो। सोही कार्यसमितिले १५औँ महाधिवेशन आयोजना गरेको हो। यस महाधिवेशनबाट थापा औपचारिक रूपमा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ।
सोलुखुम्बुमा जन्म, काठमाडौँमा शिक्षा
गगनकुमार थापाको जन्म २०३३ साल साउन ४ गते सोलुखुम्बुमा महेन्द्रकुमार थापा र रामेश्वरी थापाको सन्तानका रूपमा भएको हो। उहाँले माध्यमिक तहको शिक्षा काठमाडौँस्थित सिद्धार्थ वनस्थली हाइस्कुलबाट हासिल गर्नुभएको हो। विद्यार्थी जीवनमा उहाँको रुचि सुरुमा डाक्टर वा इन्जिनियर बन्ने थियो। संयोगवश, पछि सभापति पदमै उहाँसँग प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गी उहाँलाई गणित पढाउने शिक्षकसमेत हुनुहुन्थ्यो।
थापाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले २०६५ वैशाखमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसँग विवाह गर्नुभएको हो। अध्ययन, चलचित्र हेर्ने र घुमफिर गर्ने उहाँका रुचि हुन्। उहाँले ‘संविधानसभामा नेपाली कांग्रेस’ नामक पुस्तकसमेत लेख्नुभएको छ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म
थापाको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनबाट सुरु भएको हो। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत विद्यार्थी राजनीतिमा सक्रिय उहाँ २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित हुनुभयो।
त्यसपछि २०५७ सालमा नेविसंघको केन्द्रीय उपाध्यक्ष बन्नुभएका थापा २०५९ देखि २०६१ सालसम्म संगठनको महामन्त्री रहनुभयो। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै उहाँले संगठन निर्माण र राजनीतिक अभियानमा आफ्नो भूमिका विस्तार गर्नुभयो।
२०६२–०६३ को जनआन्दोलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध उहाँले गरेका भाषणले उहाँलाई राष्ट्रिय राजनीतिमा थप परिचित बनायो। त्यसपछि उहाँ युवा पुस्ताका चर्चित कांग्रेस नेताका रूपमा स्थापित हुनुभयो।
कांग्रेसको केन्द्रीय नेतृत्वमा उदय
पार्टीभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र संगठनात्मक सुधारका विषय उठाउँदै आउनुभएका थापा नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिनुभएका उहाँ तेस्रो स्थानमा रहनुभयो। त्यसपछि तत्कालीन सभापति शेरबहादुर देउवाले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो।
१४औँ महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिनुभएका थापा सर्वाधिक मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीका रूपमा काम गरेपछि उहाँले पार्टीको नेतृत्व परिवर्तन र संगठन सुधारको बहसलाई निरन्तरता दिनुभयो। विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेपछि उहाँले १५औँ महाधिवेशनमा सभापति पदको जिम्मेवारी औपचारिक रूपमा प्राप्त गर्नुभएको छ।
चार पटक सांसद, स्वास्थ्य मन्त्रीसमेत
गगनकुमार थापा २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बन्नुभएको थियो। त्यसपछि २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो।
संसदीय भूमिकाका क्रममा उहाँले २०७१ सालमा व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। २०७३ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त हुनुभएका उहाँले स्वास्थ्य क्षेत्रका नीतिगत सुधारका प्रयासमा काम गर्नुभएको थियो।
संसद् र सरकार दुवैमा काम गरेको अनुभवका आधारमा उहाँको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट संसदीय नेतृत्व हुँदै पार्टीको सर्वोच्च कार्यकारी पदसम्म पुगेको देखिन्छ।
नयाँ नेतृत्वसामु चुनौती
गगनकुमार थापा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण र संगठनात्मक सुधारका विषय उठाउँदै आउनुभएको नेता हुनुहुन्छ। विशेष महाधिवेशनबाट नेतृत्वमा पुग्नुभएका उहाँले १५औँ महाधिवेशनबाट ९३.८८ प्रतिशत मतसहित सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
अब उहाँको नेतृत्वमा पार्टी संगठनलाई प्रभावकारी बनाउने, आन्तरिक एकता कायम गर्ने, कार्यकर्ताको विश्वास बलियो बनाउने र जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने विषय महत्त्वपूर्ण हुनेछन्। सभापतिका रूपमा उहाँले पार्टीको नीति, संगठन र आगामी राजनीतिक कार्यदिशालाई कसरी अघि बढाउनुहुन्छ भन्ने विषय आगामी कार्यकालमा चासोका साथ हेरिनेछ।





