महोत्तरी– महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल सोनामाई मन्दिरमा बडादशैँको घटस्थापनाको अवसरमा दोस्रो ऐतिहासिक कलश शोभायात्रा निकालिएको छ । विश्व शान्ति, मानव कल्याण तथा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको शोभायात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी भएका छन् ।
औरही नगरपालिका र स्थानीयवासीको संयुक्त पहलमा आयोजना गरिएको शोभायात्राको उद्घाटन नगरप्रमुख प्रदीपकुमार खड्का, उपप्रमुख रेणु झा तथा विभिन्न वडाका अध्यक्षहरूले संयुक्त रूपमा गर्नुभएको थियो ।



गत वर्ष २०८२ सालमा पहिलो पटक आयोजना गरिएको कलश शोभायात्रामा करिब चार हजार कलश सहभागी गराइएको थियो । यस वर्ष दोस्रो पटक आयोजना गरिएको शोभायात्रामा पाँच हजारभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।
शोभायात्रा औरही नगरपालिका–२ स्थित फूलबरिया गाउँको जंघाहा खोलामा बेतो, पचाइन र जङ्गा खोलाको सङ्गमस्थलबाट सुरु भई सोनामाई मन्दिरसम्म पुगेको थियो । शोभायात्रामा महिला, पुरुष, बालबालिका तथा वृद्धवृद्धासहित हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो । स्थानीय समाजसेवी, धार्मिक अगुवा, जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति थियो ।
नगरप्रमुख खड्काले कलश शोभायात्राले नगरवासीबीचको एकता, सांस्कृतिक सम्पदाको संरक्षण र धार्मिक मूल्य मान्यतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सोनामाई मन्दिर नगरवासीको आस्था, विश्वास र सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै शोभायात्राले नगरको धार्मिक तथा सांस्कृतिक इतिहासमा नयाँ अध्याय थप्ने बताउनुभयो ।
शोभायात्राले औरही नगरपालिका तथा आसपासका क्षेत्रमा धार्मिक उत्साह, उल्लास र सद्भावको वातावरण सिर्जना गरेको सहभागीहरूले बताएका छन् ।
मिथिला क्षेत्रको प्रसिद्ध धार्मिकस्थल सोनामाई मन्दिर
सदरमुकाम जलेश्वरदेखि करिब २३ किलोमिटर उत्तर र बर्दिबासदेखि करिब १७ किलोमिटर दक्षिणमा जलेश्वर–बर्दिबास सडकखण्डसँगै औरही नगरपालिका–७ स्थित भोइल गाउँमा सोनामाई मन्दिर रहेको छ । सोनासती महारानीको मन्दिरका रूपमा समेत परिचित यो मन्दिर मिथिला क्षेत्रका चर्चित धार्मिकस्थलमध्ये एक हो । यहाँ वर्षौंदेखि पूजा–आराधना तथा धार्मिक मेला लाग्दै आएको छ ।
स्थानीय जनविश्वासअनुसार भूत, प्रेत, पिशाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू झारफुक तथा तान्त्रिक विधिबाट उपचार गराउन यहाँ आउने गर्छन् । सन्तान प्राप्ति तथा अन्य मनोकामना पूरा हुने विश्वासमा श्रद्धालुले मन्दिरमा भाकल गर्ने र मनोकामना पूरा भएपछि पुनः आएर पूजा तथा बलि दिने परम्परा रहेको मन्दिरका पुजारी केदार झाले बताउनुभयो ।
पाँच सय वर्ष पुरानो जनश्रुति
स्थानीय जनश्रुतिअनुसार करिब पाँच सय वर्षअघि हाल मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो । जिल्लाको पश्चिमी तथा दक्षिणी क्षेत्रबाट गाईभैँसी चराउन आउने मानिसहरू राति सोही जङ्गलमा बास बस्ने गर्थे ।
एक पटक पाँचवटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरूले खोजी गर्दै जाँदा हाल मन्दिर रहेको स्थानमा पुगेका थिए । त्यहाँ सोनासती महारानी मानव रूपमा प्रकट भएर भैँसी आफूसँग रहेको र दैनिक पूजापाठ, साँझ दीप प्रज्वलन तथा आरती गरेपछि मात्र भैँसी फिर्ता दिने बताएको किंवदन्ती रहेको पुजारी झगरु झाले बताउनुभयो ।
उक्त घटनापछि सो स्थानमा सोनासती महारानीको पूजाआराधना सुरु भएको स्थानीय विश्वास छ । मन्दिर निर्माण हुनुअघि यो स्थान ‘कहचरिया स्थान’का नामले चिनिन्थ्यो । त्यहाँ रहेको पुरानो सिसौँको रूखको टोड्कामा सोनासती महारानीको बास रहेको विश्वास गरिन्थ्यो । पछि त्यहाँबाट मूर्ति ल्याएर माटोको घर बनाई पूजापाठ गर्न थालिएको स्थानीयवासी बताउँछन् ।
भाकलपछि मन्दिर निर्माण
स्थानीय राजनीतिकर्मी दरेश यादवका अनुसार माझी चौधरी नाम गरेका व्यक्तिले सोनासती महारानीप्रति भाकल गरेपछि मन्दिर निर्माण गराएका थिए । पुजारी माझी झाका अनुसार माझी चौधरी वीरगन्ज जेलमा रहेका बेला मन्दिर निर्माण गर्ने भाकल गर्नुभएको थियो । जेलबाट मुक्त भएपछि उहाँले भाकलअनुसार मन्दिर निर्माण गराएको जनश्रुति स्थानीयस्तरमा प्रचलित छ ।
समयक्रममा पुरानो मन्दिर जीर्ण भएपछि त्यसलाई भत्काएर हालको नयाँ मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिरमा दैनिक पूजापाठ तथा आरती हुँदै आएको छ । धार्मिक आस्था र स्थानीय जनविश्वाससँग जोडिएको सोनामाई मन्दिर मिथिला क्षेत्रको सांस्कृतिक तथा धार्मिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।
घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा
सोनामाई शक्तिपीठमा प्रत्येक वर्ष बडादशैँको घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा, आराधना तथा धार्मिक मेला आयोजना गरिन्छ । घटस्थापनाको दिन बिहानै धूप, दीप, अक्षता र कलशसहितको डाला लिएर भक्तजन मन्दिर पुग्ने गर्छन् । मन्दिरमा कलश स्थापना गरेसँगै नवरात्रको पूजा प्रारम्भ हुन्छ ।
सप्तमीका दिन विभिन्न स्थानबाट ल्याइएको फूलपाती मन्दिरमा भित्र्याइन्छ । अष्टमीमा बोकाको बलि दिने तथा घिउ र सिन्दूरले माताको सजावट गर्ने परम्परा छ । नवमीका दिन राँगाको बलि दिइन्छ भने दशमीमा परम्परागत बाजागाजासहित मन्दिरबाट पुजारीको घरमा डाला लगिएपछि मेलाको समापन गरिन्छ ।
यहाँ दशैँको चौथीदेखि अष्टमीसम्म विशेष रूपमा भूत मेला लाग्ने गर्छ । यस अवधिमा भूतप्रेत, पिशाच तथा दुष्ट आत्माको प्रभावबाट पीडित भएको ठानिएका व्यक्तिहरू उपचारका लागि मन्दिर परिसरमा आउने गर्छन् । उनीहरूलाई पुजारीमार्फत मन्त्र, तन्त्र, जन्तर तथा परम्परागत उपचार विधि अपनाइने स्थानीय मान्यता छ । मेलाका क्रममा हजारौँको सङ्ख्यामा बलि दिने परम्परासमेत रहिआएको छ ।
धार्मिक पर्यटनको सम्भावना
सोनामाई मन्दिर परिसरमा शिव, पार्वती, गणेश, राजदेवी र सरस्वतीलगायत देवीदेवताका मूर्ति रहेका छन् । परिसरमा तपसी बाबाको धुनीसमेत छ, जहाँ चौबीसै घण्टा आगो बलिरहने धार्मिक विश्वास छ ।
धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको सोनामाई मन्दिर क्षेत्र प्राकृतिक सौन्दर्यका दृष्टिले पनि आकर्षक रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको पूर्वाधार विकास, संरक्षण तथा प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ ।
यस वर्ष सोनामाई भूत मेलामा करिब १५ लाख भक्तजन सहभागी हुने अनुमान सोनामाई पूजा समितिले गरेको छ । कलश शोभायात्रामा बढ्दो सहभागिता र मेलामा आउने भक्तजनको सङ्ख्याले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटनसम्बन्धी सम्भावनालाई थप उजागर गरेको स्थानीयवासीको विश्वास छ ।





