काठमाडौँ – यस वर्षको दसैँका लागि गायिका अनु चौधरी र गायक हसन राईले ‘दसैँ आयो’ बोलको गीत ल्याएका छन् ।
त्यस्तै, विष्णु माझीको स्वरमा ‘परदेशी’ र पशुपति शर्मा तथा अन्जिता विश्वकर्माको स्वरमा ‘दसैँ आयो, तिहार आयो’ जस्ता गीत पनि केही दिनअघि मात्रै सार्वजनिक भएका छन् ।



यति मात्र होइन, सिमरन परियारको ‘दसैँ रमाइलो’, नम्रता तामाङको ‘आयो दसैँ तिहार’लगायत थुप्रै नयाँ गीतहरू बजारमा आएका छन् । हरेक वर्ष दसैँमा यसरी नै थुप्रै नयाँ गीतहरू आउने गर्छन् । तर, जतिसुकै नयाँ गीतहरू आए पनि नेपाली सांगीतिक क्षेत्रका पुराना र कालजयी गीतहरूले नै हरेक वर्षको दसैँमा विशेष उमंग थप्ने गरेका छन् ।
यस्ता छन् हरेक दसैँमा उमंग भर्ने केही गीत ।
‘नमुछे आमा दहीमा टीका’
रोजगारका लागि विदेशिएको मार्मिक विलौना समेटिएको यो गीतले हरेक वर्षको दसैँमा धेरैलाई रुवाउने गरेको छ । गीतमा पुर्ण परिवारको कथा समेटिएको गीतको लक्ष्मण रायमाझीले कोरेका हुन् । गायक तथा संगीतकार नारायण रायमाझीको स्वर रहेको गीतमा बिदेसिएका युवालाई साहँुलले छल गरेर फसाएको कथा र उसको परिवारको दसैँ पीडा झल्काएको छ ।
धेरै पहिलेको यो गीतमा भिडियोमा रमा थपलिया, देवेन्द्र बाबुल, अञ्जली अघिकारी, रोशन कार्की लगायतको अभिनय छ ।
‘दसैँ नै हो कि’
बालबच्चादेखि बुढापाकासम्मले रुचाएको गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीत कालजयी मानिन्छ । हरेक वर्षको दसैँमा चारैतिर प्रथामिकतामा पर्ने यो गीत पप रक शैलीमा तयार छ ।
प्रायः बुढापाकाहरूले पप रकशैलीका गीतहरू मनपराउँदैनन् । तर यो गीतका शब्दहरूले उनीहरूलाई समेत आकर्षित गर्न सफल छ । दशक अघि बजारमा आएको यो गीतले जसरी पनि दसैँ राम्रो तवरबाट मनाउनुपर्ने बाध्याता पनि बोलेको छ ।
‘दसैँ तिहार’
‘दसैँ तिहार’ बोलको गीत हरेक वर्ष दसैँमा धेरै सुनिने गीतमा पर्छ । सुगम पोखरेलको स्वर रवि श्रेष्ठको शब्द रहेको यो गीतमा गायक पोखरेलकै संगीत छ । गीतको भिडियो पनि बनेको भिडियोमा निरज, संजीव, कुशल, अस्मिता, सुजित लगायतको अभिनय देख्न सकिन्छ । गीतले दसैँ तिहार दुवै विषय समेटेको छ । गीतले वर्ष दिनमा आउने दसैँतिर हर्ष र खुसीको दिन वर्णन गरेको छ ।
‘दसैँ आयो’
पुरानो फिल्म ‘मुग्लान’ रहेको यो गीतले पनि हरेक वर्षको दसैँमा मानिसहरूमा उमंग भर्ने काम गर्छ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीतमा रहेको यो गीतमा स्वर उदितनारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाईंको छ । गीतमा दसैँको टीका जमराको वर्णन गरिनुको साथै बिदेसिएका परिवारको पर्खाइमा रहेकी बुढी आमाको पीडा गीतमा छ ।
‘फेरि आयो दसैँ तिहार’
विष्णु माझी, खुमन अधिकारी र सुरेन्द्र मान अधिकारीको स्वरमा रहेको यो गीत हरेक वर्षको दसैँ तिहारमा जताततै प्रथामिकतामा पर्दै आएको छ । बिदेसिएका एक परिवारको कथा रहेको गीतमा परेदशमा रहेका श्रीमान् दसैँमा घर नफर्कंदा श्रीमतीले गर्ने गुनासो शब्दले भरिएका छन् । गीतमा शब्द, संगीत सुरेन्द्रमान अधिकारीको छ । गीतको भिडियोमा सिरु विष्ट र दीपक त्रिपाठी अपभनय देख्न सकिन्छ ।
‘धानकै बाला झुलाउला’
प्रहरी बल (एपीएफ)ले बनाएको जयनन्द लामाको स्वर रहेको यो गीत दसैँका कालजयी गति मध्यको एक हो । गीतमा शब्द तथा संगीत पनि गायक लामाकै छ । एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दको मिश्रण गरेर केही परिमार्जनसहित प्रस्तुत गरेको हो । हरेक दसैँमा राष्ट्रसेवक कर्मचारीले मात्रै होइन तिनका परिवारले समेत यो सुन्न रुचाएका देखिन्छ ।
‘रातो टीका निधारमा’
‘अल्लारे’ फिल्ममा रहेको यो दसैँमा लगाइने रातोटीका र जमराको वर्णन गरेको छ । उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीत सहदेव ढुङ्गानाले लेखेका हुन् । हरेक वर्षको दसैँमा धेरै गुञ्जनेमध्य यो एक पर्छ । राजेश हमाल, दीपाश्री निरौला, करिश्मा मानन्धरले यो गीतमा रातो टीका र जमरासहित नृत्य गरेका छन् । पछिल्लो समय फिल्म ‘रातो टीका निधारमा’ समेत प्रयोग भएको गीत अभिनेत्री साम्राज्ञी आरएल शाह र अंकित शर्माको अभिनय छ । पछिल्लो भर्सनमा प्रमोद खरेल र मेलिना राइले स्वर दिएका छन् ।
‘ठुल्दाइ आउने रे’
गायक बादल प्रसाईंको स्वर रहेको यो गीत चर्चित दसैँ गीतमा पर्दै आएको छ । कुल पोखरेलको शब्द, संगीत रसञ्जीव बराइलीको एरेन्ज रहेको गीतमा गीतको भिडियोमा पनि गायक बादल र अन्य साथीहरूका साथ देखिएका छन् । गीतले घरको जेठो दाजु दसैँमा विदेशबाट फर्किएर आउदा ल्याउने गिफ्टको चर्चा भाइरहरूले गरेका छन् ।
‘फौजीलाई कुन हो दसैँ’
दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत रहेको गीतमा जगदीश समालको स्वर छ । सशस्त्र प्रहरी बल (एपीएफ)ले निर्माण गरेको यो गीत हरेक वर्षको दसैँमा अत्यधिक गुन्जिने गीतको सूचीमा पर्छ । देशको सेवामा सर्मपित राष्ट्रसेवक कर्मचारी फौजी र उसको परिवारको पीडा झल्काउँछ । फौजीले दसैँमा बिदा नपाएर घरजान नपाएको पीडा गीतमा छ ।





