महोत्तरी – शिक्षकको शिक्षण सीप, कक्षाकोठाको अभ्यास तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यले महोत्तरीका प्रधानाध्यापक तथा अगुवा शिक्षकका लागि आयोजित पाँचदिने मेन्टरिङ तथा कोचिङ तालिम सम्पन्न भएको छ ।
शैक्षिक तालिम केन्द्र, बाराको आयोजना तथा शिक्षक शिक्षा क्षेत्र सहयोग परियोजना (टिचर्स एजुकेसन सपोर्ट टु स्कुल एजुकेसन सेक्टर–टेस्सेस) को प्राविधिक सहयोगमा महोत्तरीको बर्दिवासमा तालिम सञ्चालन गरिएको हो ।तालिमको सहजीकरण शैक्षिक तालिम केन्द्र, बाराका रोस्टर प्रशिक्षक लक्ष्मण भट्टराई र दीपककुमार झाले तथा शिक्षा विकास निर्देशनालयका राजन भण्डारीले गर्नुभएको थियो ।



तालिममा शिक्षक मेन्टरिङको अवधारणा, कार्यान्वयन प्रक्रिया, कक्षाकोठामा आवश्यक शिक्षण दक्षता, कक्षाकोठा अवलोकनका उपकरण, अवलोकनका आधारमा मूल्याङ्कन तथा रचनात्मक पृष्ठपोषण प्रदान गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी, प्रभावकारी पाठयोजना निर्माण, कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको सक्रिय सहभागिता, समावेशी तथा सुरक्षित सिकाइ वातावरण निर्माण र विद्यार्थीको सिकाइ मूल्याङ्कनसम्बन्धी विषयमा छलफल तथा अभ्यास गरिएको थियो ।

तालिमलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी समूह छलफल, भिडियो विश्लेषण, कक्षाकोठा अवलोकन, नमुना मेन्टरिङ, भूमिकानिर्वाह तथा सहकर्मीबाट पृष्ठपोषण लिने अभ्यासमार्फत व्यावहारिक बनाइएको थियो। सहभागी शिक्षकहरूले अवलोकनका आधारमा शिक्षण अभ्यासका सबल पक्ष र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने तथा शिक्षकलाई रचनात्मक सुझाव दिने सीपसमेत सिकेका थिए ।
तालिममा शिक्षक मेन्टरिङसम्बन्धी डिजिटल अनुप्रयोगको प्रयोग तथा विद्यालयमा सिकाइलाई व्यवहारमा उतार्न कार्ययोजना निर्माण गर्ने विषयमा पनि सहजीकरण गरिएको थियो ।तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नियमित कक्षाकोठा अवलोकन, पृष्ठपोषण, शिक्षक सिकाइ समूहको सञ्चालन तथा आवश्यक प्राविधिक सहयोग निरन्तर हुनुपर्ने औँल्याइएको छ । प्रधानाध्यापक तथा अगुवा शिक्षकले विद्यालयमा मेन्टरिङ अभ्यासलाई अघि बढाउँदै अन्य शिक्षकको पेसागत विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।
शिक्षक शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यालयमा आधारित निरन्तर पेसागत विकासलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन भइरहेको टेस्सेस परियोजनाले नेपालका विभिन्न तहमा शिक्षकको शिक्षण क्षमता, कक्षाकोठाको अभ्यास तथा शैक्षिक व्यवस्थापन सुधारका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। यस पहलले शिक्षकबीच सहकार्य र निरन्तर सिकाइको वातावरण निर्माण गर्दै विद्यालय शिक्षाको गुणस्तर, समानता तथा समावेशिता अभिवृद्धिमा योगदान पु¥याउने लक्ष्य राखेको छ।





