मधेसमा विजयादशमीको तयारी एक महिनाअघिदेखि नै सुरु हुन्छ। गणेश चतुर्थी अर्थात् चौठीचाँदका दिनदेखि दुर्गाभवानीको माटोको मूर्ति बनाउन थालिन्छ। घटस्थापनादेखि सुरु हुने पूजा, भजनकीर्तन, झिझिया नृत्य र विभिन्न परम्पराले मधेसमा दसैँको छुट्टै सांस्कृतिक पहिचान झल्काउँछन्।

तराई–मधेसका विभिन्न समुदायले आ–आफ्नै परम्परा र विधिअनुसार दसैँ मनाउने गरेका छन्। यहाँ रोगव्याधिबाट मुक्ति, सन्तान प्राप्ति र परिवारको सुखसमृद्धिका लागि भगवतीसँग भाकल गर्ने परम्परा छ। भाकल पूरा भएपछि माटोको मूर्ति बनाएर दसैँभरि पूजा गर्ने चलन रहेको छ। मूर्ति बनाउन नसक्ने परिवारले जमरा राखेर पूजा गर्ने गरेका छन्।




पण्डित लालबाबु झाका अनुसार चौठीचाँदका दिनदेखि नै भगवतीको मूर्ति निर्माण सुरु गरिन्छ। उहाँका अनुसार भाकल गरेका परिवारले माटोको मूर्ति बनाएर पूजा गर्ने परम्परा छ।
महोत्तरीको मटिहानीमा माटोको दुर्गाभवानीको मूर्ति बनाएर पूजा गर्ने परम्परा करिब ५४ वर्षदेखि चल्दै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो।

मधेसमा घटस्थापनादेखि घरघरमा भगवती र महादेवको पूजा गरिन्छ। महिलाले भूतप्रेत तथा नकारात्मक शक्तिबाट बालबालिकालाई जोगाउने धार्मिक विश्वासका साथ दसैँभरि झिझिया नृत्य गर्ने परम्परा पनि छ। कतिपय परिवारमा बालबालिकाको घाँटी वा पटुकामा लसुन र फलाम बाँधिदिने चलनसमेत रहेको छ।
गौशाला नगरपालिका–५ की ८७ वर्षीया गीता देवी साहका अनुसार घटस्थापनाका दिन बिहानै महिलाले गोबरले घरआँगन लिपपोत गर्ने परम्परा छ। घरका सदस्यले भगवतीको पूजाका लागि फूल, बेलपत्र र केराको पात सङ्कलन गर्नुका साथै महादेवको प्रतिमा बनाउन माटो तयार पार्ने उहाँले बताउनुभयो।
“पूजा सामग्री तयार भएपछि घरमूलीले स्नान गरेर कुलदेवताको पूजा गर्नुहुन्छ। ब्राह्मण आएपछि भगवतीको पूजा सुरु हुन्छ,” उहाँले भन्नुभयो।
पञ्चमी, सप्तमी, नवमी र दशमीका दिन घरमूलीले कुलदेवता तथा ग्रामदेवताको पूजा गर्ने परम्परा छ। पूजापछि मिठा परिकार बनाएर खाने र मेला भर्न जाने चलन रहेको छ। मूर्ति स्थापना गरिएका घरमा दसैँभरि भजनकीर्तन गरिन्छ। भजनकीर्तन गर्ने समूहलाई भोजन गराउनुका साथै प्रसाद र दक्षिणा दिने परम्परासमेत छ।

महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरका पुजारी केदार झाका अनुसार मूर्ति बनाउने परिवारले इष्टमित्रलाई निम्तो दिएर पूजामा सहभागी गराउने परम्परा छ। षष्ठीका दिन साँझ कीर्तनमण्डलीसहित बेलको रूखमा विशेष पूजा गरिन्छ।
“दुईवटा बेल, लड्डु, पान, सुपारी, फूल र केरा माटोको ढकनीमा राखेर रातो कपडाले बाँधिन्छ। यसलाई बेललाई निम्तो दिएको भनिन्छ,” उहाँले भन्नुभयो।
सप्तमीका दिन बिहान दुवै बेल काटेर ल्याई भगवतीको मूर्तिअगाडि राखेर पूजा गरिन्छ। सोही दिन मूर्तिकारले देवीदेवताको मूर्तिमा आँखाको नानी बनाएर ‘नयन खोल्ने’ विधि सम्पन्न गर्नुहुन्छ। त्यसपछि गाउँका महिलाले देवीको काखमा पूजा सामग्री चढाउने परम्परालाई ‘खोइछ भर्ने’ भनिन्छ। यसका लागि महिलाले भाकलसमेत गर्ने गरेका छन्।

सप्तमीको मध्यरातमा भगवतीको विशेष पूजा गरी पाठीको बलि दिने परम्परा छ। अष्टमीका दिन बिहान कुभिन्डो र त्यसपछि बोकाको बलि दिइन्छ। नवमीका दिन पनि बिहानको पूजा सकेपछि बोकाको बलि दिने चलन छ।
मिथिला परम्पराका जानकार प्राज्ञ रामभरोस कापडीका अनुसार बलि दिइएका पाठी र बोकाको मासु प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। मूर्ति नबनाउने परिवारले अष्टमी र नवमीका दिन कुलदेवताको अगाडि घिरौँलाको बलि दिने चलन रहेको उहाँले बताउनुभयो।
“दसैँभरि मधेसका कतिपय परिवारमा घिरौँलाको तरकारी नखाने परम्परा छ,” उहाँले भन्नुभयो।
मूर्ति बनाउने घरमा गाउँभरका महिलाले सप्तमीदेखि देवीलाई दही जमाउने माटोका साना भाँडा, लड्डु, फूल, पान, सुपारी र कागजको मुकुट चढाएर पूजा गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो।
नवमीको राति हवन गरेपछि दसैँको विशेष पूजा सम्पन्न हुन्छ। विजयादशमीका दिन बिहानै गाउँले भजनकीर्तन गर्दै नीलकण्ठ चरा खोज्न निस्कने परम्परा छ। चरा देखेपछि ढोगेर पूजा गर्ने धार्मिक विश्वास रहेको छ।

विजयादशमीको दिन घरघरमा टीका तथा आशीर्वाद ग्रहण गरिन्छ। त्यसपछि राति दुर्गाभवानीका मूर्ति पोखरी, तलाउ वा अन्य जलाशयमा विसर्जन गरिन्छ। मूर्ति विसर्जनपछि गाउँलेलाई भोज खुवाउने चलन छ। यससँगै मधेसमा दसैँको धार्मिक अनुष्ठान र उत्सव सम्पन्न हुने गर्छ।
यसरी मूर्ति निर्माणदेखि नयन खोल्ने, खोइछ भर्ने, भजनकीर्तन र मूर्ति विसर्जनसम्मका विशिष्ट विधिले मधेसको दसैँलाई धार्मिक आस्था, सामुदायिक सहभागिता र मौलिक संस्कृतिसँग जोड्दै आएका छन्।





