सर्लाही,- सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा घाँटी काटिएको अवस्थामा एक बालिकाको शव फेला परेको छ।
बुधबार दसैँका दिन स्थानीय लालबाबु राउतकी करिब १३ वर्षीया छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्।



जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार बालिका बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट निस्किएकी थिइन्। साँझ स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि करिब ४ः३० बजे प्रहरीलाई खबर गरेका थिए।
प्रहरी निरीक्षक केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटिएको चोट देखिएको छ।
गोडैता नगरपालिका–६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका बिहान उखुको पात काट्न खेतमा गएको र साँझ आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको जानकारी दिए। उनका अनुसार बालिकाले उखुबारीमा केही उखुका पातसमेत काटेकी थिइन्।
मृतक बालिकाको शव परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




