महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको सांगठनिक समायोजन प्रक्रिया महोत्तरीको औरही नगरपालिकामा सुरु भएको छ। समायोजनअन्तर्गत औरही नगरपालिका–९, अगलेश्वरमा शनिबार आयोजित वडास्तरीय भेलाले राम परेखी सदाको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जसपा नेपाल औरही नगर समितिको आयोजनामा सम्पन्न समायोजन बैठकले दुवै पार्टीका नेता तथा कार्यकर्तालाई एकीकृत सांगठनिक संरचनामा समेट्दै वडा तहमा संगठन विस्तार र सुदृढीकरण गर्ने उद्देश्य राखेको नगर संयोजक दरेश यादवले जानकारी दिनुभयो।



नवगठित समितिको उपाध्यक्षमा जुगल मण्डल, महिला उपाध्यक्षमा रिना कुमारी ठाकुर, सचिवमा मोहन बैठा, महिला सचिवमा चिन्ता देवी यादव र कोषाध्यक्षमा रेखा देवी सदा चयन हुनुभएको छ।
त्यस्तै, सदस्यहरूमा सौखीलाल यादव, विलास सदा, भुल्लीया देवी सदा, रामेश्वर दास, गीता देवी यादव, राम प्रसाद दास, प्रमेश्वर सदा, अनिता देवी सदा, शिला देवी मण्डल, राधीका देवी महतो, जानकी देवी महतो र देवरण देवी सदा चयन हुनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा (ज्ञानु) ले सांगठनिक समायोजनले मधेसको राजनीतिलाई नयाँ दिशा दिनुका साथै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि थप बल पुर्याउने बताउनुभयो।
उहाँले वडा तहलाई पार्टी संगठनको आधारका रूपमा व्याख्या गर्दै आपसी मतभेद र विभाजन बिर्सेर एकताबद्ध रूपमा जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो। जसपा नेपाल र लोसपा नेपालबीचको समायोजनले स्थानीय तहका नेता तथा कार्यकर्तालाई एउटै मञ्चमा ल्याएको उहाँको भनाइ थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा नगर संयोजक दरेश यादवले वडा नम्बर ९ बाट सुरु भएको समायोजनले नगरभित्र पार्टीलाई थप व्यवस्थित, अनुशासित र जनमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले औरहीका बाँकी वडामा पनि क्रमशः समायोजन प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
नवगठित समितिले वडाको विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो।
पार्टीका नेता राजनारायण यादवले दुई पार्टीका नेता तथा कार्यकर्ता एउटै सांगठनिक संरचनामा आउनु समयको माग भएको बताउनुभयो। पार्टी संगठन चुनाव जित्ने माध्यम मात्र नभई किसान, मजदुर, युवा र उत्पीडित समुदायको आवाज उठाउने आधारसमेत भएकाले वडा समितिले जनताका दैनिक समस्याको समाधानमा भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।
नवनिर्वाचित वडा अध्यक्ष राम परेखी सदाले पार्टी नेतृत्वले दिएको जिम्मेवारी पूरा गर्दै विपन्न, दलित तथा सीमान्तकृत समुदायको उत्थानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ र पूर्वाधार विकासका क्षेत्रमा अझै काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै संगठनलाई टोलटोलसम्म विस्तार गर्ने बताउनुभयो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए। आपसी मतभेद अन्त्य गर्दै वडा तहदेखि संगठन बलियो बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा महेन्द्र राय यादव, सर्युग यादव, सत्यनारायण यादव, राम दिनेश यादव, औरही नगरपालिका–३ का वडाध्यक्ष रामकेवल यादव, वडा नम्बर ९ का पूर्ववडाध्यक्ष नवलकिशोर चौधरी, वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष सुशील साह, वडा नम्बर ६ का वडाध्यक्ष सुशील चौधरी, गंगाराम यादव, रामदेव यादवसहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
नगर समितिका अनुसार औरही नगरपालिकाका बाँकी वडामा पनि क्रमशः सांगठनिक समायोजन र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिनेछ।






















