ढल्केवर(धनुषा) : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएकी छन् । आइतबार धनुषाको ढल्केवरमा स्वीकृत ट्रमा सेन्टरको प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले ट्रमा सेन्टरको भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसेकेको बताएकी हुन् ।

‘टेन्डरका कागजातहरू स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारमा पठाइसकिएको छ । छिट्टै प्रक्रिया सकेर टेन्डर खुल्छ,’मन्त्री मेहताले भनिन्, ‘ट्रमा बन्छ–बन्दैन भन्ने जिज्ञासा अब रहेन । यहाँको ट्रमा सरकारको बहुबर्षीय योजनामा परिसकेको छ ।’




उनले ट्रमा सेन्टर भवनको शिलान्यास पनि चाँडै हुने विश्वास दिलाइन् । उनले भनिन्, ‘साइट हेर्यौं । सबै कुरा मिलेको छ । टेन्डरको प्रक्रिया सकेर छिट्टै शिलान्यास हुन्छ ।’ प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले भवन निर्माणको कार्य सुरू भएमात्र यहाँका नागरिक विश्वस्त हुने बिफ्रिङ गरे ।

स्वास्थ्यमन्त्री मेहतालाई विफ्रिङ गर्दै प्रतिनिधिसभा सदस्य महतोले भने, ‘ट्रमा सेन्टरको नाममा यहाँका नागरिक लामोसमयदेखि ठगिदै आएका छन् । अब अश्वासनले चित्त बुझाउने अवस्था छैन । भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ । छिट्टै शिलान्यासको वातावरण बनाइदिनुस् ।’

निरीक्षणका क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।





