महोत्तरी – निर्वाचन आयोगले देशभरबाट दुई लाख तीन हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका, नाम रद्द भएका तथा नागरिकता त्यागेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार नामावलीबाट हटाइएकामध्ये ४५ हजार ३२२ जना मृत्यु भएका व्यक्ति हुन् भने एक लाख ५८ हजार २६४ जनाको नाम दोहोरो दर्ता, रद्द वा त्यागसम्बन्धी कारणले हटाइएको हो ।




मतदाता नामावलीबाट नाम हटाइएका जिल्लामध्ये झापा, मोरङ, सप्तरी र कैलालीलगायतका जिल्लामा उल्लेख्य सङ्ख्या रहेको छ । मोरङमा मृत्यु भएका ६१० जना र दोहोरो दर्ता, रद्द वा त्यागसम्बन्धी कारणले नौ हजार ५२१ जनाको नाम हटाइएको छ ।
सप्तरीमा मृत्यु भएका छ हजार ३०१ जना र अन्य कारणले चार हजार ८७ जनाको नाम हटाइएको छ । धनुषामा मृत्यु भएका ३६९ जना र अन्य कारणले चार हजार ४४८ जनाको नाम मतदाता नामावलीबाट हटाइएको आयोगको विवरणमा उल्लेख छ ।
त्यस्तै, झापामा मृत्यु भएका ८३४ जना र अन्य कारणले छ हजार १८८ जना, सुनसरीमा मृत्यु भएका ७९८ जना र अन्य कारणले चार हजार ७६२ जनाको नाम हटाइएको छ । रौतहटमा मृत्यु भएका दुई हजार ५१४ जना र अन्य कारणले चार हजार १५१ जनाको नाम हटाइएको छ ।
पाल्पामा मृत्यु भएका तीन हजार ४४ जना र अन्य कारणले एक हजार ६८५ जना तथा रुपन्देहीमा मृत्यु भएका १८१ जना र अन्य कारणले चार हजार ३६१ जनाको नाम हटाइएको छ । कैलालीमा मृत्यु भएका एक हजार ३९ जना र अन्य कारणले छ हजार ५२५ जनाको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले जनाएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका थिए । नामावली अद्यावधिक गर्ने क्रममा दुई लाखभन्दा बढी मतदाताको नाम हटाइएको हो ।
यसैबीच, आयोगका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका तथा नयाँ नाम दर्ता गराएका एक लाख ८७ हजार ६८६ जना मतदाता नामावलीमा थपिएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको पूर्वतयारीस्वरूप मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ । निर्वाचनको तयारीअन्तर्गत नामावलीलाई व्यवस्थित र अद्यावधिक बनाउने कार्य अघि बढाइएको उहाँले बताउनुभयो ।
आयोगले आगामी स्थानीय तह निर्वाचनअघि मतदाताको राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बरसमेत अद्यावधिक गर्ने तयारी गरेको छ । पछिल्लो समय मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउनेहरूको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण समावेश भए पनि पहिले नै नाम दर्ता गराएका मतदाताको हकमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश नभएको आयोगले जनाएको छ ।
मतदाता नामावलीमा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्ने निर्णय गरिसकेको आयोगले त्यसका लागि सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ । नामावली अद्यावधिकसँगै मतदाताको विवरणलाई थप व्यवस्थित, विश्वसनीय र त्रुटिरहित बनाउने आयोगको लक्ष्य रहेको छ ।




