शिव पुरी,ढेकाहा, महोत्तरी / सोमबार साँझ । महोत्तरीको पिपरा गाउँपालिका–१ ढेकाहास्थित एक घरको आँगनमा छरछिमेकीहरूको बाक्लो उपस्थिति थियो । उनीहरू सबै शोकमा देखिन्थे । आफैंलाई सम्हाल्न नसक्ने गरी भुइँमा थचक्क बसेकी थिइन्, ४१ वर्षीया इन्द्रिकादेवी महतो । साउदी अरबमा रोजगारीमा रहेका पति भरत महतो (४५) को ४ कात्तिकमा ड्रोन आक्रमणमा परी मृत्यु भयो । इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमाथि एकपछि अर्को गर्दै गरिरहेको आक्रमणको यो पछिल्लो घटना थियो । तर घटनाको ‘वज्रपात’ युद्धमा संलग्न नरहेको नेपालको एउटा विपन्न परिवारमा परेको छ ।
साउदीको अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमा सरसफाइको काम गर्दै आएका पतिको मृत्युको खबरले शोकाकुल र बेहोस जस्तै बनेकी इन्द्रिकालाई आफन्तीहरूले पानी छम्केर होसमा ल्याउने प्रयास गरिरहेका थिए । तर उनी शोकले मुर्छित थिइन् । पतिको कमाइ नै घर धान्ने मुख्य स्रोत थियो । १४ वर्षदेखि परदेशमा पसिना बगाइरहेका भरतले केही समयअघि नजिकै १ कट्ठा घडेरी किनेका थिए । अनि त्यही घडेरीमा उनले चारकोठे पक्की घर बनाउँदै थिए । तर घर बनिनसक्दै भरतले संसार नै छाडेका छन् । ‘हाम्रो त आशाको दियो नै निभ्यो । अब कसरी छोराछोरीको लालनपालन गर्ने ? भगवान् पनि कति निर्दयी भएको होला । छँदाखाँदाको सुख सबै उजाडियो,’ उनले सुनाइन् ।




इन्द्रिकाका अनुसार घर बनाउन उनले निजी बैंकबाट ११ लाख कर्जा लिएकी थिइन् । मासिक २० हजार रुपैयाँ किस्ता भरतले पठाएपछि तिर्ने गरेकी थिइन् । एकातिर पतिको मृत्युको शोक, अर्कोतिर घरको कर्जाको बोझ । पतिको अनुपस्थितिमा चार छोराछोरी हुर्काइरहेकी उनले सुनाइन्, ‘परिवारको भविष्यका लागि श्रीमान् विदेशमा रगत, पसिना बगाउँदै हुनुहुन्थ्यो, हामी त नयाँ घरमा सरेर खुसीको जीवन बिताउने सपना देख्दै थियौं । सबै उजाडियो । अब बैंकको ऋण कसरी तिर्ने ?’
साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामकोको परियोजनामा भरत मजदुरी गर्थे, हुथीले प्रहार गरेको ड्रोन यही परियोजनास्थलमा खस्यो, भरतसहित पाकिस्तानी र भारतीय श्रमिकले ज्यान गुमाए ।साउदी अरबको पूर्वी प्रान्तस्थित सैबाह तेल क्षेत्रमा रहेको साउदी अरामकोको परियोजनामा भरत मजदुरी गर्थे । ४ कात्तिकमा हुथीले प्रहार गरेको ड्रोन यही परियोजनास्थलमा खस्यो । भरतसहित पाकिस्तानी र भारतीय श्रमिकले ज्यान गुमाए । इन्द्रिकाका अनुसार त्यहाँका सुपरभाइजरले घटनाको केही घण्टापछि उनलाई फोन गरेर भरत आक्रमणमा परेको र घाइते अवस्थामा अस्पताल भर्ना गरिएको बताएका थिए । सोही साँझ पतिको मृत्युको खबर पाइन् ।
श्रीमान्को शव नेपाल ल्याउन पहल गरिदिन सोमबार आफन्तको साथ लागेर जिल्ला प्रशासन कार्यालय जलेश्वर पुगेर इन्द्रिकाले निवेदन दिएकी छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भरतको शव ल्याउन पहल गरिदिन अनुरोध गर्दै इन्द्रिकाले दिएको निवेदन गृह मन्त्रालयमा पठाइसकेको बताए । ‘हामीले पीडित परिवारले दिएको निवेदनसहितको पत्र गृहमा पठाइसकेका छौं,’ उनले भने, ‘गृहबाट शव नेपाल ल्याउन पहलका लागि परराष्ट्र मन्त्रालय जान्छ ।’
कन्सुलर विभागले भने उक्त निवेदन मंगलबार नै रियादस्थित नेपाली दूतावासमा पठाइसकेको छ । दूतावासले भरतको मृत्यु प्रमाणपत्र प्राप्त भइसकेको जनाएको छ । मृत्युको खबर आएयता भरतको घरमा चुलो बलेको छैन । घटना हुनुभन्दा अघिल्लो रात भरतले घरमा भिडियो कल गरेका थिए । उनले परिवार र छोराछोरीको ख्याल गर्न इन्द्रिकालाई भनेका थिए । तर यही बातचित अन्तिम भइदियो ।
महोत्तरीमा भरत महतोको बन्दै गरेको घरको प्रांगणमा शोकाकुल परिवार र आफन्त । तस्बिर: शिव पुरी/कान्तिपुर
२०६९ सालमा १ लाख २० हजार रुपैयाँ वैदेशिक रोजगारीमा पठाउने स्थानीय एजेन्टलाई बुझाएर भरत साउदी पुगेका थिए । स्थानीय साहुसँग २४ प्रतिशत ब्याजमा भरतले विदेश जाने पैसा जोहो गरेका थिए । त्यसरी साउदी पुगेका उनी त्यसयता निरन्तर भिसा थप्दै बसिरहेका थिए । इन्द्रिकाका अनुसार यो १४ वर्षमा २०७५ र २०७९ सालमा गरी दुई पटक नेपाल आए । श्रम स्वीकृतिको म्याद पनि समाप्त भइसकेकाले उनले वैदेशिक रोजगारमा जाने श्रमिक मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोष र जीवन म्यादी बिमाबापत पाइने आर्थिक सहायता पनि नपाउने भएका छन् । उनको श्रम स्वीकृतिको म्याद एक वर्ष अगाडि नै समाप्त भइसकेको छ । कोषबाट १० लाख र बिमाबापत १५ लाख रुपैयाँ पाउने व्यवस्था छ ।
भरतका दाजु रामजस महतोले भाइको मृत्युपछि आफूहरूले सरकारी निकायबाट कुनै सान्त्वना नपाएको दुःखेसो सुनाए । उनले भने, ‘कुनै पनि निकायले अहिलेसम्म यसो गरौं भनेका छैनन् । यसले हामीलाई झनै मर्माहत बनाएको छ ।’ इन्द्रिकाले भने कम्तीमा श्रीमान्को शव ल्याउन सरकारले पहल गरोस् र परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरिदिओस् भन्ने अपेक्षा राखेको सुनाइन् । परराष्ट्रमन्त्री शिशिर खनालले कान्तिपुरसँगको कुराकानीमा साउदीमा भएको ड्रोन आक्रमणमा परी महतोको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको र शव ल्याउन पहल भइरहेको बताए । ‘महतोको शव जतिसक्दो चाँडो नेपाल ल्याउने पहल भइरहेको छ,’ उनले भने, ‘सरकारका तर्फबाट गर्नुपर्ने काममा मैले कुनै कमी छाडेको छैन । यस विषयमा साउदी सरकारसँग पनि कुरा भइरहेको छ ।’
नेपाली श्रमिकलाई सतर्क रहन सरकारको आग्रह
हुथी विद्रोही समूहले साउदी अरबविरुद्ध आक्रमण तीव्र पार्दै लगेपछि सुरक्षा चुनौती बढ्दै गएको छ । यमनी हुथीले साउदी अरबका तेल परियोजना, विमानस्थल र महत्त्वपूर्ण परियोजनामाथि शृंखलाबद्ध आक्रमण गरिरहेका छन् । एएफपीले आधिकारिक तथ्यांकका आधारमा गरेको गणनाअनुसार हुथीको आक्रमणमा ५ कात्तिक (बिहीबार) सम्म साउदीमा २२ जनाको मृत्यु भइसकेको छ । २४ असोजमा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलमा भएको आक्रमणमा १२ जनाको तत्कालै मृत्यु भएको थियो । आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको भोलिपल्ट मृत्यु भयो । घटनामा ३ सय ९ जना घाइते भएका थिए ।
२६ असोजमा रियाद विमानस्थलमा पुनः आक्रमण हुँदा एक पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै ११ जना घाइते भए । २० असोजमा अब्हा विमानस्थलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भयो, २८ जना घाइते भए । यसअघि जुलाईमा पनि सोही विमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमण भएको थियो । १७ सेप्टेम्बर (१ असोज) मा ताइफमा हुथी विद्रोहीको ड्रोनलाई बीचमै नष्ट गर्दा खसेका टुक्रा लागेर एक जनाको मृत्यु भयो भने दुई जना घाइते भए ।
हुथी आक्रमणले त्यहाँ कार्यरत नेपाली श्रमिकहरू पनि त्रसित बनेका छन् । ‘साउदीमा यस्तो अशान्त हुन्छ भन्ने हामीले कहिल्यै कल्पना गरेका थिएनौं,’ दुई दशकदेखि साउदीको दमाम क्षेत्रमा कार्यरत धनुषाका रितेश मण्डलले भने, ‘कतिखेर कहाँ आक्रमण हुन्छ भन्ने नै थाहा छैन । जब मोबाइलमा सतर्क हुनू भन्दै सन्देश आउँछ, तब मेरो मुटु फुलेर आउँछ, डर लाग्छ ।’ साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढिरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ ।
राजदूतावासले सोमबार जारी गरेको सूचनामा सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, साउदीका आधिकारिक निकायले जारी गरेका सूचनालाई नियमित रूपमा हेर्न र सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको हो ।
यमनका हुथी विद्रोही समूह र साउदी अरबबीचको द्वन्द्व चर्किएका बेला साउदीका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमणका घटना भएका छन् । मंगलबार साउदी नेतृत्वको गठबन्धनले पूर्वी र दक्षिणी क्षेत्रमा लक्षित तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र र चार वटा ड्रोनलाई निस्तेज पारेको जनाएको छ । राजदूतावासले साउदीका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि आग्रह गरेको छ । अपुष्ट सामग्री अरूलाई पठाउनसमेत नहुने सूचनामा उल्लेख छ । हवाई यात्रा गर्ने नेपालीलाई पनि सावधानी अपनाउन भनिएको छ । साउदी अरबबाट नेपाल वा अन्य देशमा यात्रा गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको यकिन गरेर मात्र विमानस्थल जान दूतावासले अनुरोध गरेको छ ।
साउदीमा रहेका नेपालीलाई आवश्यक सहयोग परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ । साउदी अरबमा करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । पछिल्ला आक्रमणले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र आवागमनमा थप सतर्कता आवश्यक बनाएको छ । (कान्तिपुर)




