लालगढ (धनुषा) । मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि, जातीय तथा लैङ्गिक विभेद र वातावरणीय सङ्कटजस्ता सामाजिक समस्याका मूल कारण पहिचान गरी परिवर्तनको पहल गर्ने उद्देश्यले सातदिने आवासीय शिविर सुरु भएको छ ।
‘मधेशमा सामाजिक रूपान्तरणका लागि शिविर’ नाम दिइएको उक्त शिविर सोमबारदेखि धनुषाको लालगढमा सुरु भएको हो । कात्तिक ९ देखि १५ गतेसम्म सञ्चालन हुने शिविरमा मधेश प्रदेशका आठवटै जिल्लाका २६ जना युवा सहभागी छन् ।



शिक्षा नीति तथा अभ्यास केन्द्र (CEPP) र खाद्यका लागि कृषि अभियानको संयुक्त आयोजनामा सुरु भएको शिविरमा महोत्तरी युवा सञ्जाल (MaNY), एभरेस्ट मेमोरियल युथ क्लब, सिरहा (EMYC) र डिग्निटी इनिसिएटिभ्स (DI) सहकार्य संस्थाका रूपमा रहेका छन् ।

शिविरले समाजमा देखिने समस्याको सतही पहिचानमा मात्र सीमित नभई तिनका मूल कारण, सामाजिक संरचना र असमानताका जरा पहिल्याउँदै स्थानीयस्तरबाट सामाजिक तथा वातावरणीय न्यायका लागि पहल गर्न युवालाई सक्षम बनाउने लक्ष्य राखेको छ ।
महोत्तरी युवा सञ्जालका अध्यक्ष रविन्द्रकुमार महतोका अनुसार शिविरले युवालाई आफ्नै समाज र समुदायलाई आलोचनात्मक दृष्टिले बुझ्न, स्थापित मान्यता तथा अभ्यासमाथि प्रश्न गर्न र सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै परिवर्तनको पहल गर्न प्रेरित गर्नेछ ।
शिविरमा सामाजिक संरचना, जातीय तथा लैङ्गिक विभेद, सामाजिक असमानता, वातावरण र विकासका अवधारणालगायत विषयमा छलफल तथा व्यावहारिक अभ्यास गरिने आयोजकले जनाएका छन् । समस्यालाई देखिएको अवस्थाका आधारमा मात्र नहेरी त्यसका पछाडि रहेका कारण, प्रभाव र सामाजिक संरचनाबीचको सम्बन्ध पहिचान गर्न सहभागीलाई प्रोत्साहित गरिनेछ ।
त्यस्तै, धार्मिक तथा सामाजिक मान्यता, सञ्चारमाध्यमबाट प्रवाह हुने सूचना र विकाससम्बन्धी प्रचलित धारणालाई तथ्यका आधारमा विश्लेषण गर्ने अभ्यास पनि गराइनेछ । कुनै कुरा कसले भन्यो, त्यसको प्रमाण के छ र त्यसबाट कसलाई फाइदा पुग्छ भन्ने प्रश्नमार्फत सहभागीको आलोचनात्मक सोच र विश्लेषण क्षमता विकास गर्ने लक्ष्य राखिएको छ ।
शिक्षा, स्वास्थ्य र कृषिका चुनौतीमा छलफल
शिविरमा मधेशको सामाजिक रूपान्तरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षा, सार्वजनिक स्वास्थ्य र कृषि क्षेत्रका चुनौतीलाई विशेष प्राथमिकता दिइएको छ ।
शिक्षासम्बन्धी सत्रमा सार्वजनिक शिक्षाको अवस्था, विद्यालयमा पहुँच तथा गुणस्तरका चुनौती र विशेषगरी छात्रा, दलित तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाले शिक्षामा भोग्नुपर्ने कठिनाइबारे छलफल हुनेछ । शिक्षालाई प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई समान अवसर, चेतना र सामाजिक परिवर्तनको आधारका रूपमा बुझ्ने प्रयास गरिनेछ ।
स्वास्थ्यसम्बन्धी सत्रमा पोषण, शारीरिक तथा मानसिक स्वास्थ्य र सार्वजनिक स्वास्थ्य सेवामा नागरिकको पहुँचका विषय समेटिनेछन् । स्वास्थ्य समस्यालाई व्यक्तिगत व्यवहारमा मात्र सीमित नराखी आर्थिक अवस्था, सामाजिक विभेद, जनचेतना र सार्वजनिक सेवाको उपलब्धतासँग जोडेर विश्लेषण गरिनेछ ।
कृषि तथा खाद्य सुरक्षासम्बन्धी सत्रमा माटो र पानीको अवस्था, रासायनिक विषादीको प्रयोग, दिगो खेती प्रणाली तथा खाद्य उत्पादनका चुनौतीमाथि छलफल हुनेछ । कृषकको जीविकोपार्जन, वातावरण संरक्षण र खाद्य सुरक्षाबीचको सम्बन्ध पहिचान गर्दै स्थानीयस्तरमा अपनाउन सकिने विकल्पबारे सहभागीले अनुभव आदानप्रदान गर्नेछन् ।
शिक्षा, स्वास्थ्य र कृषिलाई छुट्टाछुट्टै क्षेत्रका रूपमा मात्र नहेरी राज्यको भूमिका, सार्वजनिक सेवा र सामाजिक संरचनासँग जोडेर बुझ्ने अभ्याससमेत शिविरको महत्त्वपूर्ण पक्ष रहने आयोजकले जनाएका छन् ।
वातावरणीय न्यायमा जोड
मधेशले सामना गरिरहेका वातावरणीय समस्यालाई पनि शिविरमा प्राथमिकताका साथ समेटिएको छ । जलवायु परिवर्तन, तराईमा बढ्दो पानीको अभाव तथा खडेरी, चुरे क्षेत्रका वातावरणीय चुनौती र जलवायुजन्य विपद्का विषयमा छलफल गरिनेछ ।
वातावरणीय सङ्कटले कृषि, जनस्वास्थ्य, जीविकोपार्जन र स्थानीय समुदायको जीवनमा पार्ने प्रभाव विश्लेषण गर्दै प्राकृतिक स्रोतको उपयोग र विकासका गतिविधिलाई दिगो तथा न्यायपूर्ण बनाउने उपायबारे सहभागीले विचार राख्नेछन् ।
यसका साथै रोजगारी, बजार, पुँजी, उपभोगको शैली, समयको उपयोग र मानवीय सम्बन्धले व्यक्ति तथा समाजमा पार्ने प्रभावबारे आत्मचिन्तन गर्ने अवसर पनि शिविरमा उपलब्ध गराइनेछ ।
सिकाइलाई व्यवहारमा रूपान्तरण गर्ने लक्ष्य
सातदिने शिविरलाई सैद्धान्तिक छलफलमा मात्र सीमित नराखी व्यावहारिक अभ्यास र सामूहिक सिकाइमा आधारित बनाइएको छ । सहभागीले स्वयंसेवा, टिपोट लेखन, कथाकथन, सार्वजनिक प्रस्तुति, भावना व्यवस्थापन तथा स्थानीय जनप्रतिनिधि र सार्वजनिक पदाधिकारीसँग प्रश्न गर्ने सीपको अभ्यास गर्नेछन् ।
शिविरको अन्तिम दिन सिरहामा शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रमा काम गरिरहेका व्यक्ति र स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । यसबाट सहभागीले स्थानीय अनुभवबाट सिक्ने, समुदायका वास्तविक चुनौती बुझ्ने र आफ्नो सिकाइलाई व्यवहारसँग जोड्ने अवसर पाउनेछन् ।
शिविरको अन्तिम चरणमा प्रत्येक सहभागीले आफ्नो व्यक्तिगत जीवन, परिवार, साथी समूह तथा सार्वजनिक संस्थाको तहमा गर्न सकिने परिवर्तनका काम पहिचान गरी ३० दिन र ९० दिनका कार्ययोजना तयार गर्नेछन् । सहभागीबीच निरन्तर सम्पर्क र सहकार्य कायम राख्न साथी प्रणाली (बडी सिस्टम) तथा पूर्वसहभागी सञ्जालमार्फत सिकाइ र पहललाई निरन्तरता दिने योजना पनि रहेको छ ।
आयोजकका अनुसार शिविरको मुख्य उद्देश्य युवालाई नयाँ ज्ञान दिएर मात्र फर्काउनु नभई आफ्नै समुदायमा सामाजिक तथा वातावरणीय न्यायका लागि कम्तीमा एउटा ठोस काम सुरु गर्ने प्रतिबद्धतासहित तयार पार्नु हो । स्थानीय समस्याका मूल कारण पहिचान गरी सामूहिक प्रयासमार्फत समाधानको पहल गर्ने संस्कार विकास गर्न सके सामाजिक रूपान्तरणको प्रक्रिया समुदायबाटै अघि बढ्न सक्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।




