महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–११ स्थित बहादुरगञ्जको श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा नवनिर्मित चारकोठे भवनको उद्घाटन गरिएको छ । कक्षाकोठाको अभाव झेल्दै आएको विद्यालयमा नयाँ भवन निर्माण भएपछि पठनपाठन थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नगर प्रमुख डा. दिपेन्द्र महतोले आइतबार एक कार्यक्रमबीच रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । नगर क्षेत्रमा शिक्षाको पहुँच विस्तार गर्नुका साथै विद्यालयको भौतिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले भवन निर्माण गरिएको नगर प्रमुख महतोले बताए ।



गुणस्तरीय शिक्षाका लागि पर्याप्त र व्यवस्थित कक्षाकोठा आवश्यक रहेको उल्लेख गर्दै उहाँले नयाँ भवनले विद्यार्थीको सिकाइ वातावरण सुधार गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे। निर्माण कार्य तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गरेको भन्दै उहाँले निर्माण कम्पनीलाई धन्यवादसमेत दिए ।
भवन निर्माणका लागि २०८२ साल भदौ २३ गते धनुषाधाम नगरपालिका–७, धनुषास्थित मुनाल एण्ड उत्सव निर्माण सेवा प्रालिसँग ६३ लाख १७ हजार ७ सय ८१ रुपैयाँमा सम्झौता भएको थियो। सोही सम्झौताअनुसार कम्पनीले चारकोठे भवन निर्माण सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष साहका अनुसार नयाँ भवन निर्माण भएपछि विद्यालयमा कक्षाकोठाको अभाव कम हुनुका साथै विद्यार्थीले सहज र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर पाउनेछन् । नयाँ भवनले विद्यार्थी भर्ना वृद्धि र सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।
विद्यालयको भौतिक संरचना विस्तारसँगै विद्यार्थीलाई व्यवस्थित वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा नयाँ भवन महत्त्वपूर्ण उपलब्धि हुने विश्वास विद्यालय परिवारले लिएको छ ।




