सुजाता राई
विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोशी प्रदेशका पौडी खेलाडीले विशेष प्रशिक्षण सुरु गरेका छन्। प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रदेश खेलकुद विकास बोर्ड, कोशीले विराटनगरस्थित एभरेस्ट कलेजको स्विमिङ पुलमा प्रशिक्षण सञ्चालन गरेको हो।
इटहरीस्थित ओसियन पार्कमा शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई समेटेर प्रशिक्षण अघि बढाइएको कोशी प्रदेशका पौडीका मुख्य प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए।



उनका अनुसार कोशीका १० जना खेलाडी विराटनगरमा, नौ जना काठमाडौंका विभिन्न स्थानमा र एक जना अमेरिकामा प्रशिक्षणरत छन्। विराटनगरमा प्रशिक्षण लिइरहेका खेलाडीलाई मुख्य प्रशिक्षक राजभण्डारी र सहायक प्रशिक्षक डम्बरबहादुर थापाले नियमित प्रशिक्षण दिइरहेका छन्। उनीहरूलाई दैनिक बिहान तीन घण्टा र बेलुका करिब अढाइ घण्टा अभ्यास गराइँदै आएको छ।

कोशीका प्रतिभाशाली पौडी खेलाडी विकास कुमाल अमेरिकामा प्रशिक्षणरत छन्। उनले अमेरिकामै पौडीसम्बन्धी अध्ययनसमेत गरेका छन्। नेपालका ब्रेस्टस्ट्रोक विधाका स्वर्ण पदक विजेता कुमालबाट प्रतियोगितामा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।
त्यस्तै, कोशीका अर्का खेलाडी आरोन भण्डारी एनएसए कपका स्वर्ण पदक विजेता हुन्। भोजपुरकी सिसोमबुन राईले पनि एनएसए कपमा स्वर्ण पदक जितिसकेकी छन्।
प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य सचिव विप्लव घोषले दशौँ राष्ट्रिय खेलकुदमा पौडीतर्फ करिब पाँच स्वर्ण पदक जित्ने लक्ष्य राखिएको बताए। सोही लक्ष्यअनुसार खेलाडीलाई तयारी अवस्थामा राख्न विशेष प्रशिक्षण सुरु गरिएको उनको भनाइ छ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीका खेल आगामी मंसिर ८ देखि ११ गतेसम्म नेपालगन्ज पौडी पोखरीमा सञ्चालन हुने कार्यक्रम छ।





