बर्दिबास – महापर्व छठको अवसर पारेर महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल पञ्चधुरा माई मन्दिर परिसर र त्यहाँ रहेको प्राकृतिक जरुवा मूलको सरसफाइ गरिएको छ।शुक्रबार सरसफाइ अभियानको तेस्रो चरण सम्पन्न भएको हो। अभियानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ रिजर्भ गण, हे.क्वा. महोत्तरीले विशेष सहयोग गरेको थियो। गणपति पंकज पौडेलको उपस्थितमा सरसफाइ गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता राजकरण महतोको पहलमा मन्दिर परिसर र प्राकृतिक मूलको नियमित सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ। अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीले समेत सक्रिय सहभागिता जनाउँदै आएका छन्।




मन्दिरको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक पहिचानसँग जोडिएको जरुवा मूल केही समयअघि सुकेपछि यसको अस्तित्व नै संकटमा परेको थियो। प्राकृतिक मूल सुकेसँगै मन्दिर परिसरको पोखरीसमेत सुक्ने अवस्थामा पुगेको थियो। तर, हालै पुनः मूल पलाएपछि यसको संरक्षण र संवर्द्धनका लागि स्थानीयस्तरमा सामूहिक पहल सुरु गरिएको हो।

पुनः पलाएको प्राकृतिक मूललाई दीर्घकालसम्म संरक्षण गर्दै मन्दिर क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्व थप उजागर गर्ने उद्देश्यले सरसफाइ अभियानलाई निरन्तरता दिइएको अभियन्ता महतोले बताए।स्थानीयवासी, सुरक्षाकर्मी, विभिन्न संघसंस्था र सरोकारवालाको सहकार्यमा अघि बढाइएको अभियानले पञ्चधुरा माई मन्दिर क्षेत्रको स्वच्छता, प्राकृतिक स्रोत संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।










