महोत्तरी – मधेसको प्राचीन मिथिला क्षेत्रमा लोकआस्थाको महापर्व छठको उल्लास छाएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको दोस्रो दिन आज शनिबार बर्तालु खरना विधिको तयारीमा जुटेका छन् ।
पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चतुर्थीका अवसरमा बर्तालुले नहाय–खाय विधि पूरा गर्दै व्रतको सङ्कल्प गरेका थिए । यस दिन पवित्र स्नान गरी शुद्ध र सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ ।



पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा बर्तालुले बिहानै स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन् । साँझ चन्द्रदर्शनपछि नयाँ माटोको चुलो र माटोकै भाँडामा सख्खर, दूध तथा स्थानीय जातको चामलबाट खीर पकाएर कुलदेवता र छठी मातालाई अर्पण गरिन्छ । त्यसपछि उक्त खीर प्रसादका रूपमा बर्तालु तथा परिवारका सदस्यले ग्रहण गर्ने परम्परालाई मैथिली भाषामा ‘खरना’ भनिन्छ ।
खरना विधि छठ पर्वको महत्वपूर्ण अनुष्ठान हो । यस दिन बर्तालुले दिनभरि उपवास बसेर साँझ पूजा सम्पन्न गरेपछि प्रसाद ग्रहण गर्छन् । त्यसपछि सुरु हुने निर्जला व्रत पर्वको समापन नभएसम्म जारी रहन्छ ।
छठ पर्व श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिको पर्वका रूपमा परिचित छ । यस पर्वमा सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गरिन्छ ।
औरही नगरपालिका–२, औरहीकी व्रतालु महिला करम देवी यादवले छठ पर्व श्रद्धा, आस्था र पवित्रताको प्रतीक भएको बताउनुभयो । उहाँले छठी माताको पूजा आराधना गर्दा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार छठ पर्वमा गरिने कठिन व्रत, उपवास र पूजाले आत्मिक सन्तुष्टि प्रदान गर्नुका साथै परिवार र समाजमा आपसी सद्भाव तथा एकताको भावना बढाउने गरेको छ ।
पर्वको तेस्रो दिन आइतबार कात्तिक शुक्ल षष्ठी तिथिमा बर्तालुले दिनभरि निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा बनाइएका आकर्षक घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । कम्मरसम्म पानीमा उभिएर सूर्यदेवको उपासना गर्दै दिइने यस अर्घ्यलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझिया घाट’ भन्ने गरिन्छ ।
त्यसैगरी, पर्वको अन्तिम दिन सोमबार सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मैथिलीमा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्यका क्रममा पहिले जटासहितको नरिवल र त्यसपछि ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरालगायतका फलफूल सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ ।
छठ पर्वका लागि विशेष रूपमा तयार पारिने ठकुवा, भुसुवालगायतका परिकार प्रसादका रूपमा इष्टमित्र तथा आफन्तलाई वितरण गर्ने चलन छ । यस्ता परिकार ढिकीमा कुटिएको र जाँतोमा पिसिएको गहुँको पिठोबाट तयार गरिन्छन् । पर्वका अवसरमा नदी, पोखरी तथा अन्य जलाशयका किनारमा आकर्षक घाट निर्माण गरी सरसफाइ र सजावटसमेत गरिन्छ ।
केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायका हिन्दू धर्मावलम्बीले समेत उत्साहपूर्वक मनाउन थालेका छन् । मिथिला क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिले समेत बर्तालुलाई अर्घ्यका बेला सूर्यदेवसमक्ष चढाउन आफ्ना भाकलका सामग्री उपलब्ध गराउने गरेका छन् ।
धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको छठ पर्वमा विभिन्न धर्म, जाति र समुदायका व्यक्तिको सहभागिता बढ्दै गएको छ । यसले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहअस्तित्वलाई समेत बलियो बनाएको छ ।
औरही नगरपालिका–२, औरहीका पूर्वशिक्षक सीताशरण यादवले छठ पर्व कुनै एक जाति वा समुदायमा मात्र सीमित नरही सबैको साझा पर्वका रूपमा विकसित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार विभिन्न समुदायको सहभागिता र आपसी सद्भावका कारण छठ पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।




