धनुषा । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। छठ पर्वको तयारीसँगै मिथिलाञ्चलका गाउँबस्तीमा सामा चकेवा पर्वको रौनक छाएको छ।
कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ। पर्वको ११औँ दिन अर्थात् पूर्णिमाको राति सामा चकेवाको विधिपूर्वक विसर्जन गरेपछि पर्व समापन हुने परम्परा छ।



पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै गाउँका चौबाटो, दोबाटो तथा सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने गर्छन्। पर्वको पहिलो दिन आज बिहानै महिलाहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भीरबाट दाजुभाइको हातबाट माटो खनेर ल्याउने चलन छ।
त्यही माटोबाट सामा, चकेवा, चुगला तथा अन्य आकृति बनाइन्छ। बनाइएका माटाका आकृति दिनभरि सुकाएपछि विभिन्न रङले सजाएर आकर्षक बनाइन्छ। साँझपख ती आकृतिलाई रातो रङको बाँसको डालामा राखेर दियो बाल्दै गाउँका चौक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर गीत गाउने र नाच्ने गरिन्छ।
मधेश प्रज्ञा-प्रतिष्ठान अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीका अनुसार सामा चकेवा पर्वमा दिदीबहिनीहरूले सामूहिक रूपमा परम्परागत गीत गाएर दाजुभाइको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्छन्।
यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका लोकगीत गाउने परम्परा छ।
पर्वको अन्तिम दिन अर्थात् ११औँ दिन बिहानै सामा चकेवाका आकृतिलाई पुनः रङरोगन गरी दिनभरि सुकाइन्छ। साँझपख दहीचिउरा खुवाएर सामा चकेवाबाट दाजुभाइको फार भराउने र दाजुभाइबाट सामा चकेवा फुटाउन लगाउने परम्परा रहेको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अवकाश प्राप्त शिक्षक तथा पुरोहित लालबाबु झाले बताउनुभयो।
उहाँका अनुसार त्यसपछि दिदीबहिनीहरूले बाजागाजा र गीतनादसहित सामा चकेवाका आकृतिलाई गाउँबाहिर जोतिएको खेत वा वन क्षेत्रमा लगेर विसर्जन गर्छन्। यसरी सामा चकेवाको विसर्जन गरेपछि पर्व सम्पन्न हुन्छ।
सामा चकेवा पर्व मनाउँदा दाजुभाइको आयु लामो हुने, सुस्वास्थ्य कायम रहने र आर्थिक समृद्धि प्राप्त हुने जनविश्वास छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि गरिन्छ।
मिथिलाञ्चलको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा र पर्सालगायतका जिल्लामा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। नेपालसँगै सीमावर्ती भारतीय क्षेत्र सीतामढी, दरभङ्गा, मधुबनी, मुजफ्फरपुर र पटनालगायतका स्थानमा पनि सामा चकेवा पर्व लोकप्रिय छ।
क्षीरेश्वरनाथ नगरपालिका–२ की ३२ वर्षीया अनिता यादवका अनुसार छठ पर्वको खरना विधि गरिने दिन देखि सामा चकेवा पर्वको तयारी सुरु हुन्छ। छठको तयारीसँगै महिलाहरूले सामा चकेवाका लागि आवश्यक माटो, बाँसको डाला, रङ तथा अन्य सामग्रीको जोहो गर्ने गर्छन्। यस पर्वले मिथिलाको मौलिक संस्कृति, लोकगीत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पारिवारिक परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।-




