महोत्तरी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य रचना खतिवडा खत्रीले महोत्तरीको औरही नगरपालिकाका विभिन्न धार्मिकस्थल तथा छठ घाटको अवलोकन गर्नुभएको छ। काभ्रेपलाञ्चोकबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद खत्रीले शनिबार महोत्तरी भ्रमणका क्रममा स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तरक्रियासमेत गर्नुभएको हो।
रास्वपाको केन्द्रीय विधेयक मन्थन विभागका पूर्वसदस्य विश्वजीत कुमार यादवको गृह जिल्ला महोत्तरी र गृह गाउँ औरही हो। आफ्नो गृह गाउँको भ्रमणका क्रममा यादवले सांसद खत्रीलाई समेत औरही ल्याउनुभएको थियो। उहाँहरूको आगमनका अवसरमा औरही नगरपालिका–१ स्थित औरही बजारमा रास्वपा नगर कार्यसमितिले स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो।




नगर कार्यसमितिका सभापति संजित कुमार यादव, उपसभापति मनोज कुमार चौधरीलगायत पदाधिकारी तथा स्थानीय नेता–कार्यकर्ताले सांसद खत्रीलाई खादा लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रममा रास्वपा केन्द्रीय अभियान तथा प्रचार–प्रसार विभागका सदस्य सरोज कुमार यादवको पनि उपस्थिति थियो।

भदौ २३ गतेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका रसिक खतिवडाकी आमा सांसद खत्रीको स्वागतका क्रममा स्थानीय नेता तथा कार्यकर्ताले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कक्षा १२ मा अध्ययनरत विद्यार्थी रसिकको सम्झनामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो।
भ्रमणका क्रममा सांसद खत्रीले औरही नगरपालिका–७ भोइलस्थित प्रसिद्ध सोनामाई माताको मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको थियो। त्यसैगरी वडा नं. ८ टिम्कियास्थित रामजानकी कुट्टी, वडा नं. ९ अगलेश्वरस्थित अखिलेश्वरनाथ मन्दिर र वडा नं. ५ श्रीपुरस्थित रामजानकी कुट्टीको पनि अवलोकन गर्नुभएको थियो।

छठ पर्वको तयारीका क्रममा नगरपालिकाका विभिन्न स्थानमा निर्माण तथा व्यवस्थापन गरिएका छठ घाटको अवलोकन गर्दै उहाँले सरसफाइ, सजावट र व्यवस्थापनका विषयमा जानकारी लिनुभएको थियो।
यसै क्रममा वडा नं. १ स्थित औरही बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका गतिविधि, संगठन विस्तार तथा स्थानीयस्तरका समसामयिक विषयमा छलफल भएको थियो।
रास्वपा औरही नगर कार्यसमितिका सभापति संजित कुमार यादवले जेनजी आन्दोलनका क्रममा आफू पनि घाइते भएको बताउनुभयो। आन्दोलनका क्रममा आफ्नो खुट्टामा गोली लागेको उल्लेख गर्दै उहाँले सहादत प्राप्त गरेका युवाको बलिदान खेर जान नहुने बताउनुभयो। आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका विषय व्यवहारमा कार्यान्वयन हुनुपर्ने उहाँको भनाइ थियो।

नगर कार्यसमितिका उपसभापति मनोज कुमार चौधरीले सांसद खत्रीको भ्रमणले स्थानीय नेता तथा कार्यकर्तासँग विचार आदानप्रदान गर्ने अवसर मिलेको बताउनुभयो। पार्टी संगठनलाई स्थानीय तहसम्म सुदृढ बनाउन एकता, सहकार्य र समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
रास्वपाका केन्द्रीय विधेयक मन्थन विभागका पूर्वसदस्य विश्वजीत कुमार यादवले गृह गाउँमा सांसद खत्रीलाई ल्याएर क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गराउन पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले धार्मिकस्थलको संरक्षण, प्रचारप्रसार र विकासमा सबै पक्षको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नुभयो।
रास्वपा केन्द्रीय अभियान तथा प्रचार–प्रसार विभागका सदस्य सरोज कुमार यादवले पार्टीका नीति, विचार र उद्देश्य जनस्तरसम्म पुर्याउन संगठनात्मक सक्रियता र जनतासँग निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो।

सांसद खत्रीले औरहीवासीले देखाउनुभएको आत्मीय स्वागत र सम्मानप्रति आभार व्यक्त गर्नुभयो। जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाको बलिदान स्मरण गर्दै उहाँले सहिद परिवारको सम्मान र न्याय सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो।

यसै अवसरमा सांसद खत्री, विश्वजीत कुमार यादव र सरोज कुमार यादवले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता अभिवृद्धि गर्ने विश्वाससमेत उहाँहरूले व्यक्त गर्नुभयो।



















