धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामको छठ पर्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्व पाइरहेको अवस्थामा यसको प्रत्यक्ष अनुभव गर्न आफू मधेश आएको बताउनुभएको छ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले महापर्वका रूपमा स्थापित छठमा सहभागी हुन पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनुभयो। आफूहरू अध्यात्ममा विश्वास गर्ने भएकाले छठ पर्वका विभिन्न विधि तथा प्रक्रियामा सहभागी हुन श्रीमतीसहित जनकपुरधाम आएको उहाँले स्पष्ट पार्नुभयो।




यसअघि पनि आफू विभिन्न धार्मिक तथा आध्यात्मिक पीठ र अनुष्ठानमा सहभागी हुँदै आएको उल्लेख गर्दै उहाँले आफ्नो धार्मिक आस्थालाई अन्यथा रूपमा नलिन आग्रह गर्नुभयो।
सभापति लामिछानेलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता, रास्वपा नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य मनिष झा, पूर्वमन्त्री बब्लु गुप्ता लगायत प्रतिनिधिसभा सदस्य, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।
जनकपुरधामस्थित ऐतिहासिक गङ्गासागरसहित विभिन्न पोखरी तथा जलाशयमा छठ पर्वको तयारी भइरहेका बेला लामिछानेको आगमनलाई धार्मिक तथा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।




