धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद वा समस्या नरहेको बताउनुभएको छ।
शनिबार जनकपुरधाममा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताउनुभयो।



सरकारलाई कहिलेकाहीँ सल्लाह, सुझाव र आलोचना गर्दा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता हल्लामा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पार्नुभयो। सरकार आफ्ना प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित भएर अघि बढिरहेको उहाँको भनाइ थियो।
सभापति लामिछानेले रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीभित्र हुने पक्ष र विपक्षका बहसलाई सकारात्मक रूपमा लिने गरेको बताउनुभयो। आफ्नै सरकारलाई पार्टीले दिने सुझाव र आलोचना आन्तरिक लोकतन्त्र बलियो भएको उदाहरणका रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो।
यसपटक जनताले रास्वपालाई अवसर दिएको उल्लेख गर्दै उहाँले अहिले प्राप्त जनमतबाट पनि मधेशका जनताले परिवर्तनको आशा र अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू भोट माग्न नआउने बताउनुभयो। जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उहाँको भनाइ थियो।
मधेशका जनताको जीवनमा परिवर्तन ल्याउने आशा र विश्वासका साथ प्राप्त अवसरलाई धोका नदिन उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
सभापति लामिछानेले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताउनुभयो। उहाँले उम्मेदवारको टिकट दिलाइदिने प्रलोभन देखाएर रकम असुल्ने व्यक्तिबाट सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो , ‘म सुनिरहेको छु, मधेसमा निकै ठुलो चुनाव लागेको छ रे। चुनावको माहोल मधेसमा एकदमै तातिसक्यो, गर्मागर्म भइसक्यो रे भन्ने म कताकता सुनिरहेको छु। उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम एडभान्स पनि आइसक्यो रे! म आज यही मञ्चबाट घोषणा गर्दछु कि सारा एडभान्स डुबे!’
रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उहाँले टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्ति ठगीमा संलग्न रहेको बताउनुभयो। त्यस्ता व्यक्तिविरुद्ध नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन उहाँले आग्रह गर्नुभयो।
पार्टीको विधि र विधानविपरीत झुटा आश्वासन दिने तथा आर्थिक लेनदेन गर्ने व्यक्तिबारे सूचना दिनेलाई पार्टीले विशेष सम्मानका साथ हेर्ने पनि उहाँले बताउनुभयो।
मधेशका जनताले जनप्रतिनिधिलाई मालिक बन्न नभई सेवक बन्न निर्वाचित गरेको उल्लेख गर्दै सभापति लामिछानेले जनप्रतिनिधिको जीवनशैलीभन्दा मतदाताको जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।




