महोत्तरी। बर्दिबास नगरपालिका–१ स्थित श्री देउराली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्ने उद्देश्यले श्री देउराली विद्यालय पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरिएको छ।
शनिवार आयोजित पूर्व विद्यार्थीहरूको भेलाले सुरज खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।



समितिको उपाध्यक्षमा आरती बुढाथोकी, सचिवमा सोमकुमार फुयाल, सहसचिवमा प्रतिमा न्यौपाने र कोषाध्यक्षमा अस्मिता रञ्जितकार चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा प्रबिन खड्का, अविन थापा, चित्रबहादुर पुलामी (प्रविन) र रेखा मगर रहनुभएको छ।
त्यस्तै, संस्थाको विधान लेखनका लागि रुद्र सुस्लिङको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरिएको छ। समितिका सदस्यहरूमा बिमला पोख्रेल, दिनेश थापा, चण्डिका घिमिरे र सुदर्शन प्रसाई रहनुभएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा सभाध्यक्ष कुमार घिमिरेले २०६४ ब्याचका पूर्व विद्यार्थीहरूले यस अभियानको सुरुवात गरी संस्थागत पहल गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यो अभियान कुनै एक ब्याचमा मात्र सीमित नभई विद्यालयमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरूको साझा संस्था बन्नुपर्नेमा जोड दिनुभयो।
नवगठित समाजले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने, पूर्व विद्यार्थीहरूबीच आपसी एकता र सहकार्य बढाउने, वर्तमान विद्यार्थीहरूलाई शैक्षिक सहयोग गर्ने तथा सामाजिक सेवाका गतिविधिमा सक्रिय सहभागिता जनाउने उद्देश्य राखेको छ।
यस संस्थाले विद्यालयसँग जोडिएका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयको विकास र सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रम कालापानी मा वनभोज आयोजना गरी गरिएको थियो।




