धनुषा। तराई–मधेशको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी धार्मिक आस्था र निष्ठापूर्वक पूजा गरिँदैछ। यसका लागि जनकपुरधामसहित मिथिलाञ्चलका विभिन्न नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा विशेष रूपमा घाट सजाएर पूजा गर्ने तयारी गरिएको छ।

गएराति खरना विधि सम्पन्न गरेका व्रतालुहरू आज दिनभर निर्जला उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने तयारीमा जुटेका छन्। घरमा तयार पारिएका ठेकुवा, भुसुवा, कसार, मिष्ठान्न तथा फलफूललगायत पूजासामग्री बाँसका नाङ्लो, डगरा र सुपलीमा सजाएर व्रतालुहरू घाटतर्फ जाने तयारीमा छन्। पूजाका लागि उखु, केरा, नरिवल, अदुवा, मुला तथा अन्य कृषि उपजसमेत तयार पारिएको छ।




जनकपुरधाम २ की एक व्रतालु आरती झाका अनुसार खरना विधिमा खीर, पाकेको केरा तथा अन्य शुद्ध खाद्य सामग्री चढाउने परम्परा छ। खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुले छठको मुख्य निर्जला व्रत सुरु गर्छन्।

क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी ७५ वर्षीया बबिता चाैधरी खरना विधिको धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताउनुहुन्छ। उहाँका अनुसार यस दिन आँगनलाई गाईको गोबरले लिपपोत गरी अरवा चामलको पिठोबाट तयार पारिएको घोलले भूमि सजाउने परम्परा छ। राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी व्रतालुले प्रसाद ग्रहण गर्छन्।

छठको तेस्रो दिन षष्ठी तिथिमा मुख्य पूजा गरिन्छ। यस दिन गहुँ र चामललाई ओखल, जातो वा ढिकीमा कुटेर पिठो तयार पारिन्छ। त्यसबाट ठेकुवा, भुसुवा, कसारलगायत परम्परागत परिकार बनाइन्छन्। पूजाका लागि आवश्यक फलफूल, उखु, अदुवा, मुला, केरा तथा अन्य कृषि उपज पनि जुटाइन्छ।

क्षीरेश्वरनाथ नगरपालिका–२, की ३५ वर्षीया अनिता यादव छठका पूजासामग्री तयार पार्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ। उहाँका अनुसार पूजाका सामग्री शुद्ध र चोखो हुनुपर्छ। सामग्री जुठो भएमा अनिष्ट हुने जनविश्वास रहेकाले सरसफाइ र पवित्रतामा विशेष ध्यान दिइन्छ। षष्ठीका दिन साँझ व्रतालुहरू जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्।

पर्वको चौथो तथा अन्तिम दिन सप्तमी तिथिमा पारन गरिन्छ। यस दिन बिहानै व्रतालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। त्यसपछि छठ व्रत सम्पन्न गरी प्रसाद ग्रहण गरेर उपवास तोड्ने परम्परा छ।

महेन्द्रनगरका पुरोहित पण्डित लालबाबु झाका अनुसार अर्घ्य अर्पणपछि सूर्य पुराण श्रवण गर्ने तथा छठ व्रतको कथा सुन्ने र सुनाउने चलन छ। पूजास्थलमा पातसहितका चारवटा उखु गाडेर मण्डप बनाउने र त्यसैभित्र पूजा गर्ने परम्परासमेत रहेको उहाँ बताउनुहुन्छ।

छठ धार्मिक अनुष्ठानमा मात्र सीमित नभई सत्य, अहिंसा, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावको प्रतीकका रूपमा समेत स्थापित भएको छ।

जनकपुरका वरिष्ठ पत्रकार तथा मैथिली साहित्यकार रामभरोस कापडीका अनुसार छठले मानिसलाई सत्य र अहिंसाको मार्गमा लाग्न तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्छ।
छठ पर्वका अवसरमा जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलका पोखरी, तलाउ, नदी तथा सडक क्षेत्र सजाइएको छ। जनकपुरधामका ऐतिहासिक गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, बिहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका जलाशयमा छठ पूजाका लागि विशेष तयारी गरिएको छ।

दसैँ–तिहारको रौनक नसकिँदै मिथिलाञ्चलमा छठको तयारी सुरु हुने गर्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, आरोग्यता तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ। सूर्य र प्रकृतिको पूजा गरिने भएकाले यस पर्वले जलाशयको सरसफाइ, वातावरण संरक्षण र प्राकृतिक स्रोतको महत्वलाई समेत उजागर गर्दै आएको छ।

अहिले तराई–मधेशका हाटबजार, सडक र गल्लीमा छठका पूजासामग्रीको किनमेल बढेको छ। माटोबाट बनाइएका कलश, दियो, हात्ती तथा बाँसको चोयाबाट निर्मित नाङ्लो, डगरा, सुपली, छैटी, ढकनी र बेनालगायत सामग्रीले बजार भरिभराउ भएका छन्। उखु, केरा, अदुवा, मुला, सख्खर, गहुँको पिठोबाट बनाइने परम्परागत बुट्टे ठेकुवा, खीर र बतासाजस्ता परिकारले छठको सांस्कृतिक पहिचान झल्काउँछन्।

छठ पर्वले स्थानीय कृषि उत्पादन र परम्परागत हस्तकलालाई समेत बजार उपलब्ध गराउँदै आएको छ। माटाका भाँडाकुँडा कुम्हाले समुदायले बनाउने गर्छन् भने बाँसका सामग्री डोम समुदायका हस्तकलाकर्मीले तयार पार्छन्। डोम समुदायले बुनेका नाङ्लो, डगरा, सुपली, छैटी र बेनाजस्ता सामग्री छठ पूजाका लागि महत्वपूर्ण मानिन्छन्।

समाजशास्त्री नागेन्द्र दुबे छठका अवसरमा सडक किनारमा लाग्ने बजारलाई तराईको संस्कृति, कृषि र सामाजिक विविधता बुझाउने खुला सङ्ग्रहालयका रूपमा लिनुहुन्छ। उहाँका अनुसार छठमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्छन्। यसले सामाजिक विभेद र भौगोलिक सीमाभन्दा माथि उठेर सामूहिक आस्था र एकताको सन्देश दिन्छ।

मैथिली संस्कृति जानकार पुनम झाका अनुसार मूलतः मधेशी समुदायको प्रमुख पर्वका रूपमा स्थापित छठ अहिले पहाडी समुदायका महिलाले पनि श्रद्धा र भक्तिपूर्वक मनाउन थालेका छन्। सिन्दूरले सिउँदोदेखि नाकको टुप्पोसम्म सजिएर साडीको आँचलले शिर ढाक्दै सूर्यको आराधना गर्ने महिलाको सहभागिताले सामाजिक सद्भावको सुन्दर दृश्य प्रस्तुत गर्ने उहाँको भनाइ छ।

अर्थशास्त्री सञ्जय साह छठ पर्वले सामाजिक तथा आर्थिक जीवनमा समेत विशेष प्रभाव पार्ने बताउनुहुन्छ। उहाँका अनुसार दसैँ मनाउन राजधानी काठमाडौँबाट गाउँ फर्किनेहरू दसैँपछि पुनः राजधानी फर्किएसँगै छठ मनाउन तराई–मधेशका व्यापारी, कर्मचारी, मजदुर तथा विद्यार्थी घर फर्किने गर्छन्। यस क्रममा समुदायबीच काम र जिम्मेवारी हस्तान्तरण हुने भएकाले समाजको आर्थिक तथा सामाजिक चक्रसमेत चलायमान रहन्छ।

पछिल्लो समय छठ पर्वमा मुस्लिम धर्मावलम्बीसहित विभिन्न समुदायको सहभागिता पनि बढ्दै गएको छ। जात, धर्म, वर्ग र आर्थिक अवस्थाभन्दा माथि उठेर सबै समुदायका मानिस एउटै जलाशयमा भेला भई सूर्यको आराधना गर्ने परम्पराले यस पर्वलाई साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्दै लगेको छ।

वर्षौँदेखि भेटघाट नभएका आफन्त, साथीभाइ र छिमेकीसमेत छठका अवसरमा एकै ठाउँमा भेला हुने भएकाले यस पर्वले आपसी सम्बन्ध नवीकरण र सामाजिक मेलमिलापमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस अर्थमा छठ सूर्य उपासनाको पर्व मात्र नभई प्रकृति संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, सांस्कृतिक पहिचान र सामाजिक एकताको बलियो सेतुका रूपमा स्थापित हुँदै गएको छ।




