औरही (महोत्तरी) – लोकआस्थाको महापर्व छठको मुख्य दिन आइतबार साँझ व्रतालु तथा श्रद्धालु भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। यसै अवसरमा जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष एवं महोत्तरी निर्वाचन क्षेत्र नं. २ का पूर्वसांसद तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले आफ्नो गृहगाउँ औरहीका विभिन्न छठ घाटको अवलोकन गर्नुभएको छ।
महोत्तरीको औरही नगरपालिका–१ निवासी भण्डारीले गाउँको पूर्वपट्टि रहेको पोखरी, जङ्गहा खोला, महादेव पोखरी तथा रामजानकी कुटीअगाडिका छठ घाटको अवलोकन गर्नुभएको हो। उहाँले छठ पूजाका लागि स्थानीयवासीले गरेको तयारी, घाटको व्यवस्थापन तथा पूजाको अवस्थाबारे जानकारी लिनुभएको थियो। अवलोकनका क्रममा उहाँले विभिन्न घाटमा उपस्थित व्रतालु महिला तथा स्थानीयवासीसँग भेटघाट गर्दै छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो। उहाँले छठ पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै समाजमा आपसी सद्भाव र एकता कायम राख्न सहयोग पु¥याओस् भन्ने कामना गर्नुभयो।



पूर्वमन्त्री भण्डारीले छठ पर्व मिथिलाञ्चलसहित समग्र तराई–मधेशको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको महत्वपूर्ण प्रतीक रहेको बताउनुभयो। प्रकृति र सूर्यप्रतिको श्रद्धा प्रकट गरिने यस पर्वले समाजमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्ने उहाँको भनाइ थियो। उहाँले मौलिक संस्कृति, परम्परा र धार्मिक धरोहरको संरक्षण तथा प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा औरही नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार खड्काले छठ पर्वलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्दै आएको बताउनुभयो। उहाँले छठ पर्वले सामाजिक सद्भाव कायम राख्नुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
जसपाका केन्द्रीय उपमहासचिव एवं मधेश प्रदेशसभा सदस्य जयनुल राईनले छठ पर्व मधेशको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको बताउनुभयो। विभिन्न जाति, धर्म र समुदायबीच एकता, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने यस पर्वको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।
त्यसैगरी, जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा (ज्ञानु) ले छठ पर्व मिथिला तथा मधेशको मौलिक संस्कृति, धार्मिक आस्था र सामाजिक सद्भावको महत्वपूर्ण प्रतीक रहेको बताउनुभयो। उहाँले पुस्तौँदेखि चल्दै आएको यस पर्वको मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। छठ पर्वले जातीय तथा सामाजिक विभेदभन्दा माथि उठेर आपसी एकता, सहिष्णुता र भाइचाराको भावना विकास गर्न प्रेरित गर्ने उहाँले बताउनुभयो।
जसपा औरही नगर संयोजक दरेश यादवले पूर्वमन्त्री भण्डारीले आफ्नो गृहगाउँ आएर छठ घाटको अवलोकन गर्नुका साथै स्थानीयवासीसँग भेटघाट गर्नुभएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले छठ पर्वले धार्मिक आस्था र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
अवलोकनका क्रममा औरही नगरपालिकाका नगर उपप्रमुख रेणु झा, स्थानीय जनप्रतिनिधि,जसपाका नेता तथा कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो। छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्व सम्पन्न हुनेछ।
































