सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ने सपना अधुरै बनेको छ । ओमान स्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो ।
जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय सात रनमा समेटिएको थियो ।



नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। ऐरीले ३८ नै बलमा तीन चौका हानेका थिए । ज्ञानेन्द्र मल्लले २० रन बनाए। मल्लले १६ बलमा एक चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए।
आरिफ शेखले ११ रन बनाए । ओपनर कुशल भुर्तेल सात रनमा आउट भए। आशिफ शेक र लोकेश बम शून्य रनमा पेभेलियन फर्के । विवेक यादव आठ रन जोड्दै बाहिरिए । जितेन्द्र मुखियाले पाँच तथा सन्दीप लामिछानेले र कमल ऐरी समान चार रन जोड्दै पेभेलियन फर्किए ।
नेपाललाई सस्तैमा समेट्न यूएईका अहमेद राजा एक्लैले पाँच विकेट लिए । जुनइद सिद्धिक्वीले तीन विकेट लिए । सिद्धिक्वीले पहिलो ओभरमै नेपालको दुई विकेट लिए। रोहन मुस्ताफा र जाहोर खानले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियाे। यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ७० रन बनाए ।
३८ बलको सामना गरेकाे वासिमले चार चौका र चार छक्का हाने । वृत्य अरविन्दले ४६ रन बनाए । २३ बलको सामना गरेका अरविन्दले पाँच चौका र तीन छक्का प्रहार गरे । ओपनर चिराग सुरी चार रनमा पेभेलियन फर्केका थिए । मोहमद उसमानले १७ र जावर फारदिले अविजित ११ रन बनाए। रोहन मुस्ताफाले अविजित नौ र कप्तान अहमेद राजाले अविजित ६ रन बनाए।
बलिङमा नेपालका जितेन्द्र मुखिया र अविनास बोहोराले तीन तीन विकेट लिए। कप्तान सन्दीप लामिछाने एक विकेट झारे । समूह चरणको खेलमा बलिङमा शानदार प्रदर्शन गरेको नेपालले यूएईविरुद्ध चमत्कार देखाउन सकेन । नेपालले ब्याटिङमा पनि पुरानै कमजोरीलाई निरन्तरता दियो । समूह चरणमा नेपालले शानदार प्रदर्शन गरेको थियो ।
समूह ‘बी’ मा अपराजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले यसअघि सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।
फाइनल पुगेको यूएईले उपाधिका लागि आयरल्यान्डसँग खेल्नेछ । मंगलबार नै भएको अर्को सेमिफाइनल खेलमा आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।




