जनकपुरधाम- आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन अन्तर्गत मधेश प्रदेश को राजधानी समेत पर्नेजनकपुरधामउपमहानगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसबाट अहिले सम्म तीन जना आकांक्षीले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
आकांक्षी देखिनेहरुमा नेपाली काँग्रेसका जनकपुरधाम नगर सभापति मनोज कुमार साह, काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि एवं प्रतिष्ठित उद्योगपति प्रदिप चौधरी र नेपाली काँग्रेसका पूर्व नगर सभापति एवं पुर्व उपमेयर किशोरी साह रहेका छन्।



आकांक्षी देखिएका वर्तमान नगर सभापति साह यस अघिको स्थानीयतहको निर्वाचनमा जसपाका उम्मेदवार लालकिशोर साह सँग पराजित भएका थिए ।गत निर्वाचनमा पराजित भए पनि यस पटकको निर्वाचनकालागि साह गत पाँच वर्ष देखि निरन्तर रुपमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रमा संगठन निर्माण गरी काँग्रेस कार्यकर्ताको समर्थन प्राप्त गरी रहेका छन् । उनले गत चुनाव हारेपछि लगातार पाँचवर्ष सम्म पार्टी कार्यकर्ताको बीचमा रहेर काम गरेकोले टिकट आफुले पाउनु पर्ने दावी गर्दै आएका छन् ।
गत पाँच वर्षमा मिलनसार नेताको रुपमा नगरका जनता सामु आफनो छुट्टै छवि बनाएका साहको जनाधार नगरमा बढ्दै गएको देखिन्छ ।
त्यसै गरी अर्का आकांक्षी देखिएका नेपाली काँग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि एवं प्रतिष्ठित उद्योगपति प्रदिप चौधरीले राजनीतिक रुपमा अहिले सम्म केही पाएका छैनन् ।
मारवाडी समुदायबाट काँग्रेसमा प्रतिनिधित्व गर्ने चौधरीको काँग्रेस पार्टी सहित सामाजिक क्षेत्रमा पनि त्यतिकै योगदान भएको कारण नेपाली काँग्रेसका युवाहरुको झुकाव चौधरी तर्फ देखिएको छ । वर्षौ देखि नेपाली काँग्रेस पार्टी मार्फत आफनो परिवारले नगरको जनताको लागि विभिन्न कामकाज गरेका कारण यस पटक काँग्रेसले आफुलाई टिकट दिनु पर्ने अडान राखेका छन् । त्यसै गरी आकांक्षी देखिएका नेपाली काँग्रेसका जनकपुर नगर समितिका पूर्व सभापति किशोरी साहको पनि पार्टीमा निकै नै सक्रियता रहेको छ । साह विगतमा एक पटक जनकपुरको उपमेयर समेत भइ सक्नु भएको छ ।
त्यस कारण एक पटक मेयरको मौका पाउनु पर्ने उहाँको अभिलाषा छ ।जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको केन्द्र रहेकोले जनाधार भएका नेतालाई नै पार्टीले टिकट दिनेमा काँग्रेस कार्यकर्ताहरु आशावादी देखिएका छन् ।
यता पूर्व नगर प्रमुख बजरंग प्रसाद साह , नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिका उपसभापति राकेश विक्रम साह लगायतका आकांक्षी पनि उम्मेदवारीको लागि अघि सर्न सक्ने संभावना रहेको बताइन्छ ।




