महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको सम्पन्न वडा नं २, ७ र ६ काे मतगणना र अहिले जारी रहेको वडा नं ५ को मतगणना अनुसार नेकपा एमालेले निरन्तर अग्रता कायम राखेको छ ।
एमालेका मेयर पदका उम्मेदवार सुखदेव यादवले २९८ मतले अग्रता लिएका छन् ।



अहिले सम्मको मतगणना अनुसार एमालेका मेयर पदका उम्मेदवार यादवले २६०७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले २३०९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा एमालेकी सालिनी चौधरीले पनि अग्रता बनाएकी छिन् । उनले १९ मतले अग्रता बनाएकी हुन् । चाैधरीले २४२९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले २४१० मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी वडातर्फ वडा नं.५ मा नेकपा एमाले वडा अध्यक्षका उम्मेदवार राजनारायण प्रसाद गुप्ता (राजु )ले ३५२ , नेपाली काँग्रेसका जिवछ मण्डलले ३१९ र स्वतन्त्र भूइकटहर छापका सितेश कुमार झाले १८६ मत प्राप्त गरेका छन् ।
यस अघि वडा नं २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देबु यादव, वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमाले विनाेद गुप्ता र वडा नं ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका माेबारक कबाडी नथुनीले विजयी हासिल गरिसकेको जानकारी क्षीरेश्वरनाथका निर्वाचन अधिकृत विकास बस्नेतले दिएका छन्।
वडा नं ५ मा जम्मा २८९५ मत खसेकोमा १०९९ मत सम्मको गणना सम्पन्न भइसकेको र अब १७९६ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृत बस्नेतले जनाएको छ ।




