महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा सूर्योदय हुने संकेत देखिएको छ।
स्थानीय तहको वैशाख ३० गते सम्पन्न निर्वाचनको क्षीरेश्वरनाथ नगरपालिकाको १० वडा मध्ये ९ वटाको सम्पन्न मतगणना र बाँकी रहेको अन्तिम एक वडाको जारी मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयरले निरन्तर अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेको देखिएको छ।



क्षीरेश्वरनाथको वडा नं. १,२,४,५,७,८ र १० मा नेपाली काँग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो(मोदी) र रामपदारथ यादव प्यानल सहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः बिनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानल सहित विजयी भएका छन् ।
अहिले सम्मको मत परिणाम अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार सुखदेव यादव ७४६ मतले र उपमेयर सालिनी चौधरी १०९ मतले अगाडि रहेको छ।
एमालेका मेयरका उम्मेदवार यादवले ७४६७ मत सहित अग्रता कायम राखेको छ भने काँग्रेसका मेयर पदका उम्मेदवार योगेन्द्र पजियारले ६७२१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एमालेका उपमेयरका उम्मेदवार चौधरीले ७०८९ मत सहित अग्रता कायम राखेको छ भने काँग्रेसका उपमेयर पदका उम्मेदवार रचना श्रेष्ठ माथेमाले ६९८० मत प्राप्त गरेकी छिन् ।
अहिले वडा नं. ३ को मतगणना जारी रहेको छ। यस वडामा १४०१ मत खसेको छ ।
अहिले सम्मको मतगणनाको अन्य वडाको ट्रेन्ड अनुसार मतदाताले दिएको मत दुबै पार्टीका उम्मेदवार मध्ये खास गरी मेयरमा यस वडामा पनि कुनै खास फरक पर्ने जस्तो अवस्था देखिएको छैन । अहिले सम्मको मतगणनाबाट देखिएको मतपरिणाम अनुसार कसैको अनुमान मिल्ने अवस्था छैन ।
मेयरमा सुखदेव यादव ७४६ मतले अग्रता बनाएको हुँदा यस वडा नं.३ को खसेको मत परिणामले कुनै खास परिवर्तन ल्याउने जस्तो देखिदैन । यद्यपी उपमेयरको मतमा थोरै १०९ मतको अन्तर मात्र देखिएको हुँदा उपमेयरमा केहि फेरबदल हुन सक्छ कि भनेर अनुमान गर्ने ठाउँ देखिएको छ।
वडा नं. ३ मा यस अघिको चुनावमा काँग्रेसको जितेको र यहाँ काँग्रेसको पकड राम्रो रहेको काँग्रेसीजनहरुले दाबि गरिरहेको भएपनि यसपाली एमालेबालाहरुले पनि आफूहरुले संगठन बनाउन जोडतोडले लागेको हुँदा यस वडाको अन्तिम परिणाम आउँदा पनि कुनै खास परिवर्तन नआउने दाबि गरेका छन् ।
अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र काँग्रेसका उम्मेवादर निवर्तमान मेयर समेत रहेको योगेन्द्र पजियार बीच नै टक्कर भएको थियो । त्यतिबेला यादव उपेन्द्र यादव नेतृत्वको जसपाबाट उम्मेदवार बनेका थिए र काँग्रेस संग हार व्यहोरेका थिए । यस पटक यादव एमालेमा प्रवेश गरेर मेयरको उम्मेदवार बनेको र लगभग जीत पक्का भएजस्तो छ ।
अहिले क्षीरेश्वरनाथका जनताहरुमा तिब्र कौतुहलता जागेको अवस्था छ, चुनावको अन्तिम मतपरिणामको लागि व्यग्र प्रतिक्षामा छन् यहाँका जनता।




