बर्दिवास – वर्दिवासको एक पसलबाट बच्चालाई खुवाउनकाे लागि खरिद गरिएको म्याद बाँकी नै रहेको सर्वोत्तम प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको छ ।
चौधरी ग्रुप अन्तगर्तको इन्स्ट्यान्ट मेएल कम्पनी दुबही सुनसरीले प्याकेजिङ गरेर बजार पठाएकोे लिटोमा किरा फेला परेको हो।
महोत्तरीको बर्दिवास–१ स्थित नेमिसा फार्मेसीबाट उपभोक्ता मनोज महतोले आफ्नाे बच्चालाई खुवाउन लिटोको प्याकेट खरिद गरेर घर लगेका थिए तर घर गएर प्याकेट फुटाउँदा किरा फेला पर्यो ।
यसरी प्याकेट भित्र किरा भेटिएपछि प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले गुणस्तरहिन लिटोको प्याकेटलाई जफत गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।
इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सन्देश अधिकारी, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रवी रावल र बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्का सहितको टोली फार्मेसीमा पुगेर खानतलासी गरेका थिए ।
उपभोक्ता महतोले नावालक बच्चाको स्वास्थ्यसंग लिटो उत्पादक कम्पनीले खेलवाड गरेको बताए । यस्ता गतिविधी गर्ने कम्पनीमाथि कारवाही गर्नु पर्ने उनले प्रहरी प्रशासनसंग माग गरेका छन् ।
सन् २०२२ मे मा प्याकिङ गरेको लिटोको प्रयोग मिति २०२३ अप्रिलसम्म रहेको छ । प्रयोग गर्ने समय बाँकी रहँदै लिटोको प्याकेट भित्र किरा भेटिएको इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख अधिकारीले बताए ।
‘चौधरी ग्रुपको सर्वोत्तम लिटोको प्याकेट भित्र किरा भेटिएको हामीले पाएका छौं । फार्मेसीमा रहेको यसै कम्पनीका अन्य लिटोका प्याकेट पनि हामीले शिलबन्दी गरेका छौं । खाद्यय गुणस्तर जाँच गरेर कारवाही गर्छौं’, उनले भने ।


