जनकपुरधाम- तराई मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहल पहल सुरु भएको छ। साउन शुक्लपक्ष शुरु भएसँगै सिंगो तराई-मधेसका गाउँ,नगर बस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धून गुञ्जि रहेको छ।
भोली बिहिवार (भदौं १४ गते ) यो पर्व धुमधामका साथ मनाउने तयारी दिदी बहिनीहरुले गरेका छन्।



भाइ बहिनीको पवित्र, स्नेह एवं अटुट बन्धनको प्रतीक रक्षाबंधनको महा-पर्वलाई लिएर धनुषाको जनकपुरधाम लगायत सबैजसो नगर र गाउँको चोक , बजार र गल्लीका पसलहरू भरिभराउ छन् । रङ्गीबिरङ्गी राखी रक्षाबन्धन अनि विभिन्न प्रकारका मिठाई तथा फलफूलले बजारमा रौनकता बढाएको छ मानिसहरूको भिडभाडले बजार अरुबेला भन्दा बढी चहलपहल देखिएको छ।

बजारमा राखिहरुको खरिद-बिक्री शुरु भइसकेको छ । बजारमा हरेक वर्ष जस्तै यो वर्ष पनि बालबालिका देखि ठूलो उमेरका लागि राखिहरु फरक फरक खालका उपलब्ध छन् ।
राखीको कारोवार गर्ने व्यापारी उत्तिकै व्यस्त छन् । ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ।
२० वर्ष देखि चाडपर्व लक्षित अस्थायी पसल थाप्दै आएका धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजार केन्द्र महेन्द्रनगरमा राखि (रक्षाबन्धन) का पसल संचालक सुरेश साहले अहिले ५० रुपैयाँ देखि दुई सय रुपैयाँ वा सो भन्दा पनि अधिक मूल्य सम्मको विभिन्न खाले राखिहरु उपलब्ध भएको बताउँछन्। उनले बच्चाहरूलाई लोभ्याउनलाई उनीहरुलाई मन पर्ने कार्टुन एवं मन पर्ने खेलौना जडित विभिन्न प्रकारका राखिहरु बजारमा उपलब्ध भएको बताए।

पसलमा बच्चाहरूका लागि छोटा भीम, बाल हनुमान, डोरेमोन आदि कार्टुन चित्रण राखी बजारलाई भरिभराउ गराइएको छ।
दाजुभाइ तथा दिदी,बहिनी बीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको महान् साँस्कृतिक पर्व भएको मिथिला लोकसंस्कृतिका ज्ञाताहरु बताउँछन्।
अहिले विवाह भएर गएका चेलीहरु मोबाइल फोन, चिट्ठीको र नेटका साधनबाट आफ्ना दाजुभाइ कहाँ छन् पत्ता लगाएर राखी बन्धनमा आउने निम्तो दिने क्रम चलिरहेको छ भने अविवाहित चेली पनि काम विशेषले घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूणर्िमाका दिन राखी बन्धनमा आउने निम्तो दिनमा तल्लीन छन् ।
दाजुभाइ प्रति देखाइने प्रेम र पर्वको पूर्व तयारीले १५ दिन बितेको थाहै नपाइने गरेको पर्वका लागि राखी छान्न महेन्द्रनगर हनुमान चोक पुगेकी मंजु यादवले बताइन् ।
आउने विहिवारका दिन मनाइने यस पर्वका लागि अहिले सिङ्गो तराई मधेश क्षेत्रको दिदीबहिनी नै उत्साहित देखिन्छन् ।
सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल ) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूणर्िमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधी दिने परम्परा छ। पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनी कै हातबाट राखी बाँधिनु रहेको छ।

मधेसी समुदायले मनाउने यस रक्षा बन्धन पर्व पछिल्ला दिनहरुमा पहाडी समुदायका दाजु भाइ दिदी बहिनी बीच उत्साहका साथ मनाउन थालेका छन् ।
त्यसैगरी विगतमा हिन्दु धर्मावलम्बीले मात्र मनाउने यो पर्व पछिल्लो समय साँस्कृतिक घुलमिलले इस्लाम धर्मावलम्बीले पनि मनाउने गरेका छन्। देखासिकीमात्र नभई पर्वको रमाइलो तथा आत्मीय आकर्षणका कारण इस्लाम धर्मावलम्बीले समेत मनाउन थालेका हुन्।
रक्षा बन्धन पर्वलाई मध्ये नजर गरी जिल्ला प्रशासनले ठाउँ-ठाउँमा चेकजाँचमा कडाई गइरहेको छ ।चाड पर्वको बेला जहाँ बढी भिडभाड हुन्छ त्यहाँ चोरी लुटपाटका घटना घट्ने गरेको विगतका वर्षहरूमा पाइएको हुँदा त्यस्ता घटना नदोहोरिउन् भनेर प्रहरीले निगरानी बढाएको छ ।




