काठमाडौं । अछामको चौरपाटी गाउँपालिका–१, सिउँडीका ६० वर्षका टेकबहादुर शाह ठकुरीको एक पाखो शरीर चल्दैन । शरीरको एक भागमा प्यारालाइसिस भएर थन्किएका छन् ।
टेकबहादुरका लागि बुढेसकालको भरोसा थिए, छोरा वीरेन्द्र । उनका दाइ भारतमा मजदुरी गर्छन् ।



२३ वर्षीय वीरेन्द्रको सपना भने कोरिया जाने थियो । कोरिया गएर पैसा कमाउने अनि प्यारालाइसिस भएका बुवाको उपचार गर्ने उनको चाहना थियो ।
आफ्नो सपना पुरा गर्ने संर्घषको लागि उनी काठमाडौैंमा भाषा परीक्षा पढ्न थाले । आर्थिक अवस्था कमजोर भएकाले कोरियाको सपना पुगेर २ वर्षअघि उनी काठमाडौं आएका थिए ।
गत दशैंमा उनी काठमाडौंबाट घर गए । वृद्ध अवस्थाका बुवा आमासँग आफू विदेश जाने भन्दै काठमाडौं फर्किए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर उनै वीरेन्द्रको मृत्यु भएको छ । प्यारालाइसिस भएर ओछ्यानमा थन्किएका बुवा टेकबहादुरका लागि बुढेसकालको भरोसा गुम्यो ।

उनका गाउँलेहरू भन्छन्, ‘‘यतै सम्भावना नदेखेपछि कोरिया जानलाई भाषाको तयारी गर्न काठमाडौं गयो । अन्य देशमा पैसा खर्च गरेर पठाउन सक्ने घरको आर्थिक अवस्था छैन । यसैले कोरियन भाषा सिकेको थियो । कोरिया गएर बुबाको उपचार गर्छु भन्थ्यो । आज आफैँ बिलायो।’’
दुःखै गरेर पढाएको छोरो गोली लागेर ढल्दा अहिले बुबा आमाले आफू लाई सम्हाल्न सकेका छैनन् ।
पढाइमासमेत अब्बल भएका वीरेन्द्रले आफू विदेश उड्ने बेला आमालाई काठमाडौंमा बिदाइका लागि बोलाउने बचन दिएर गएका थिए । तर, उनी कोरिया जाने परीक्षामा फर्म भर्न पाउने र्संघर्ष गर्दागर्दै बालकुमारी मै बिलाए ।




