–दिपेश मल्लिक
जनकपुरधाम- मधेशी अपाङगता भएका महिलाहरुका लागि लैंगिक समानता तथा सशक्तिकरण सम्बन्धि दुई दिने प्रदेश स्तरिय तालिम जनकपुरधाममा मंगलबार देखि सुरु भएको छ ।



डिसेवलिटी राइट फन्ड(डिआरएफ) को आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग महिला पुनरस्थापना केन्द्र महोत्तरीको आयोजनामा संतालित सो तालिममा सहभागीहरुलाई सशक्त बनाउन प्रशिक्षण दिइदै छ । तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै महोत्तरी गाउंपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेले मधेशी अपाङ्ग भएका व्यक्तिहरुका लागि नीति तथा कानून निर्माण गर्न जोड दिने बताउनु भयो । उहाले अपाङगता भएकाहरुको लागि आफुले बजेट बिनियोजन गरि अपाङगता भएकाहरुले नै संचालन गरेको संस्था मार्फत उनिहरुको शसक्तिकरणमा लगानी गर्ने बताउनु भयो ।
उहाँले शिक्षा तथा स्वास्थ्यमा ध्यान दिन प्रेरित गर्दै मधेशी अपाङ्गता भएका महिलाहरुको अर्थपूर्ण सहभागिता तथा दिगो विकासका लागि सञ्चालन भएको तालिम सराहनिय रहेको बताउनु भयो ।
तालिमको विशिष्ठ अतिथि तथा प्रशिक्षक डिसेवलिटी राइट फन्ड(डिआरएफ) नेपालका कार्यक्रम अधिकृत कृष्ण गहतराजले मधेशी शब्द मधेशको पहिचान संग जुडेकाले मधेशी अपाङगता भएका महिलाहरुको उन्नतीका लागि मधेशमा काम सुरु गरेको बताउनु भयो । उहाँले मधेशलाई उपभोग गर्ने निजि स्वार्थको रुपमा प्रयोग गर्दै आएकोे समेत आरोप लगाउनु भयो । उहाँले मधेशमा पहिलो आवश्यकताको रुपमा अपाङगता भएका महिलाहरुलाई शसक्तिकरणका लागि अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले अपाङ्गता भएका महिलाको जीवनमा राजनीतिक, आर्थिक सामाजिक सशक्तीकरण स्थानीयस्तर देखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रम हुनुपर्ने बताउनु भयो । साथै उहाँले मधेशी अपाङ्गता भएका महिला तथा पुरुषको लागि चांडै प्रदेश स्तरीय सम्मेलनको आयोजना हुने जानकारी दिनुभयो । मधेश प्रदेशका आठै जिल्लाका मधेशी अपाङ्गता भएका महिलाहरु तालिममा सहभागि रहेका राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासवानले बताउनु भयो । उहाँले मधेशी अपाङ्ता भएका व्यक्तिहरुका लागि बजेट विनियोजन नहुंदा दुखेसो समेत ब्यक्त गर्नुभयो । अपाङ्ग भएका महिलाहरुलाई शिक्षा, स्वास्थ्य , रोजगारी , सामाजिक सुरक्षा र पुनःस्थापना लगायतका अर्थपूर्ण सहभागिताका लागि सहयोग गर्न अन्य संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय अपागं महिला पुर्णस्थापना केन्द्र महोत्तरीकी अध्यक्ष बिना चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्ग समाज जनकपुरको अध्यक्ष शत्रुधन लाल कर्णले मधेशी अपाङ्गता भएका महिलाहरूको समानता तथा सशक्तीकरणका लागि सवैलाई आवाज बुलन्द गर्न आग्रह गर्नुभयो । अहिले पनि समाजमा मधेशी अपाङगता भएका महिलाहरु घरबाट बाहिर निस्कन नपाएको बेलामा उनिहरुको अधिकारलाई कुण्ठित नगरी कानुन अनुसारको अधिकारका बारेमा प्रशक्षिकहरु प्रशिक्षण दिएको उहाँले जानकारी दिनुभयो ।भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाको सचिव बटुकनाथ झाले अपांग मैत्रि निति बनाउन आग्रह गर्नुभयो । उहाँले लैंगिक हिंसा अन्त्य गर्नका लागि संचारमाध्यमका साथ विभिन्न कार्यक्रम मार्फत सचेतना अभिवृद्धि गर्न प्रेरित गर्नुभयो । सो तालिमको उद्घाटन सत्रमा राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका सदस्य दिपिका लामा,केन्द्रिय सदस्य गोदावरी साह लगायतकाले सम्बोधन गर्नुभएको थियो भने कर्याक्रमको संचालन आयोजक संस्थाका कर्मचारी जय प्रकाश ठाकुरले गर्नुभएको थियो ।




