लहान – केही दशकअघिसम्म यादव समुदायमा कुनै व्यक्तिको मृत्यु हुँदा जसरी पनि मृत्यु भोज गर्नैपर्ने जातीय मान्यजनको दबाब रहने गरेकोमा अहिले बिस्तारै त्यस्तो दबाब घट्दै गएको छ । पछिल्लो समय मृत्यु भोज गर्ने वा नगर्ने विषय मृतकका परिवारको स्वेच्छामा निर्भर हुन थालेको यादव समुदायको संस्था गोपाल सेवा समिति लहानले जनाएको छ ।
लहान नगरपालिका–२३ बथनाहाका कमल यादवका अनुसार अब मृत्यु भोज गर्न समुदायबाट दबाब आउने गरेको छैन । उहाँले भन्नुभयो, “मेरो पिताको अन्तिम संस्कारका दिन कात्तिक १७ गते मृत्यु भोज गर्न कुनै जातीय दबाब आएन । गाउँस्तरमै सानो भोज गरेँ । पहिला यस्तो भोज निकै ठुलो स्तरमा हुने गथ्र्यो । अहिले गोपाल सेवा समितिले मृत्यु भोजमा धेरै खर्च नगर्न प्रेरणा दिएको छ ।”



गोपाल सेवा समिति लहानका अध्यक्ष गणेश यादवका अनुसार विगतमा परिवारजनको मृत्युमा ऋण काढेर वा खेत बेचेर पनि भोज गर्नुपर्ने दबाब रहने गर्थ्यो । उहाँले भन्नुभयो, “समितिले सञ्चालन गरेको जनजागरण अभियानपछि मृत्यु भोजको दायरा घट्दै गएको छ । सम्पन्न व्यक्तिहरूले भोजमा गर्ने खर्च सामाजिक कार्य र समितिको भवन निर्माणमा सहयोगस्वरूप खर्च गर्न थालेका छन् ।”
जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतोले यादव, कोइरी (महतो), कलाल, सुँडी, तेलीलगायत समुदायमा मृत्यु भोज र दाइजो विकृतिविरुद्ध बहस तीव्र रूपमा अघि बढेको बताउनुभयो । उहाँका अनुसार यसबाट समाजमा सकारात्मक परिणाम देखिन थालेका छन् ।
महदेवागाउँका जातीय मान्यजन पल्टु यादवका अनुसार विगतमा सिराहामा यादव, महतो र तेली समुदायमा मात्रै मृत्यु भोजमा बर्सेनि तीन करोड रुपियाँभन्दा बढी मूल्यका सामग्री भारतीय बजारबाट आयात हुने गरेको थियो । अहिले मृत्यु भोजको दायरा घटेपछि आर्थिक बोझ कम हुनुका साथै समाजमा पनि राम्रो प्रभाव परेको उहाँको भनाइ छ ।
वरिष्ठ लेखक रामरिझन यादवले हरेक जातीय सङ्घ–सङ्गठनले स्वजातीय विकृति हटाउन थालेपछि सामाजिक रूपान्तरणको गति बढेको बताउनुभयो । उहाँले आफ्ना मातापिताको मृत्यु भोज नगरी छोरीलाई उच्च शिक्षा दिन प्रतिष्ठान स्थापना गर्दा आफूलाई जातीय मान्यजनले बहिष्कार गरेको उल्लेख गर्दै भन्नुभयो, “बल्ल अहिले आएर समाज परिर्वतन हुन थालेको छ । यो देख्दा खुसी लाग्छ ।”




