जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएकाे छ।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक डाक्न आग्रह गर्नुभएकाे छ । तर प्रदेश सभा कार्य परामर्श समितिको सोमबार अबेर साँझसम्म बसेको बैठकमा बुधबार बिहान साढे ८ बजे विश्वासको मतका लागि प्रदेश सभाको बैठक बोलाउने सहमति भएको छ ।



कार्य परामर्श समितिको बैठकमा सरकारको तर्फबाट उर्जा, सिचाइँ तथा खानेपानी मन्त्री लखन दास तत्मा उपस्थित रहेका थिए । बैठकमा एमालेको उपस्थिति नरहे पनि अन्य दलहरुका नेता र प्रमुख सचेतकहरुको सहभागिता रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मत र दलहरुका नेता अथवा प्रमुख सचेतकले शुभकामना आदान प्रदान, प्रदेश प्रमुख लगायत विभिन्न अदालतहरुबाट प्राप्त पत्रहरु वाचन गरिने कार्यक्रम रहने बताइएको छ ।
प्रदेश सभा बैठकको प्रमुख एजेण्डा नै मुख्यमन्त्री सरोज कुमार यादवले लिने विश्वासको मत रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले बताउनुभयो । ‘प्रदेश सभामुखले बैठकको समन्वय गर्ने छन्’ उहाँले भन्नुभयो , मुख्यमन्त्रीको विश्वासको मत लिनलाई नै बैठक डाकिएको छ ।’
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेश दिउँसो ३ बजेसम्म प्राप्त नभएको जनाउँदै प्रदेश प्रमुखको कार्यालयबाट फोटोकपी मगाएर जानकारी पाएको उल्लेख गरेका छन् ।
यादवले मंगलबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा आफूले दिउँसो २ बजेका लागि प्रदेश सभाको बैठक बोलाउन प्रदेश सभा सचिवालयमा ३ बजे पत्र दर्ता गराएको जानकारी दिनुभयो। ‘सर्वोच्चको आधिकारिक जानकारी प्राप्त भइसकेको छैन्’ उहाँले भन्नुभयो, प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रलाई नै आधार मानेर सर्वोच्चको आदेशलाई सम्मान गर्दै विश्वासको मत लिन प्रदेश सभामा पत्र पठाएको छु । तर मुख्यमन्त्री यादवले प्रदेश सभामा परामर्श समितिले गरेको सहमति र बिहान प्रदेश सभाको बैठक बोलाउने विषयमा जानकारी नभएको जिकिर गर्नुभयो ।
मुख्यमन्त्री यादवले सम्हालेको स्वास्थ्य मन्त्रालयको मेलमा आइतबार राति नै करिब साढे ८ बजे मेल आएको नेकाँका प्रमुख सचेतक झाले दाबी गर्नुभयो। प्रदेश सभा सचिवालय र प्रदेश प्रमुखको कार्यालयमा मंगलबार बिहान ११ बजेर ४ मिनेटमा सर्वोच्च अदालतको आदेश प्राप्त भएको झाले बताउनुभयो । ‘विश्वासको मत लिने विषयमा प्रदेश प्रमुख, कानुन व्यवसायीहरुसित परामर्श गरिरहेको छु’ उहाँले भन्नुभयो, प्रदेश सभाको बैठक बिहान बोलाएपनि जाने नजाने विषयमा नै परामर्श गरिरहेको छु । तर उहाँले बैठकमा उपस्थित हुने बताउनुभयो।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलामा मुख्यमन्त्री यादवलाई पत्र पाएको २४ घण्टा भित्र विश्वासको मत लिन आदेश गरेको छ । सो समयावधि भित्र विश्वासको मत लिन नसके स्वतः पदमुक्त हुने आदेशमा भनिएको छ । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादव, मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल समेत ७३ जना सांसदले मुख्यमन्त्रीमा सरोज कुमार यादवको नियुक्ति अवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो ।
सर्वोच्चले सो मुद्दामा माग दाबी गरिए अनुसार मुख्यमन्त्री यादवको नियुक्तिलाई खारेज नगरे पनि २४ घण्टा भित्र विश्वासको मत लिन निर्देशन दिएको हो । मुख्यमन्त्री यादवले सो निर्देशन अनुसार नै बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विपक्षी दलहरुले प्रदेश प्रमुखले संविधानको धारा १६८(२)लाई छलेर १६८(३)मा गएको आरोप लगाएका थिए । सर्वोच्चले मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसके पुनः संविधानको धारा १६८(२)बमोजिमको सरकार गठनको प्रक्रिया थाल्न निर्देशन दिएको छ ।
प्रदेशसभामा १६८(२) बमोजिम सरकार गठनको सम्भावना रहेसम्म १६८( ३) मा जान नहुने समेत प्रष्ट गरेको छ । प्रदेश सभामुखले प्रदेश सभाको बैठक आह्वान गर्ने समय नै सबैका लागि मान्य हुने कानुन व्यवसायीहरुले बताएका छन् । मुख्यमन्त्रीको आग्रहमा सोही दिन बैठक बोलाइए पनि सभामुखले सुविधा अनुसारको समय निर्धारण गर्न सक्ने उनीहरुको कथन छ ।
उच्च स्रोतहरुका अनुसार मुख्यमन्त्री यादवले प्रदेश सभाको बैठकलाई सम्बोधन गरी राजीनामाको घोषणा गर्न सक्ने छन् । प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्भावना क्षीण भइसकेको छ । कार्य परामर्श समितिको बैठकमा विपक्षी दलहरु एकजुट देखिएका छन् ।




