महोत्तरी – महोत्तरीसहित तराईका जिल्लामा विगत दुई सातादेखि जारी शीतलहर र बाक्लो कुहिरोपछि आज घाम लाग्दा सर्वसाधारणले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि चिसो र कुहिरोका कारण प्रभावित जनजीवन घाम निस्किएसँगै क्रमशः सहज बन्दै गएको छ।
चिसोका कारण विशेषगरी किसान वर्ग बढी प्रभावित भएका थिए। खेतबारीको काम ठप्पजस्तै बनेको अवस्थामा औरही नगरपालिका–२ औरहीका किसान दिनेश यादवले चिसोले खेतीपातीमा ठूलो असर परेको बताउनुभयो। उहाँका अनुसार दुई सातासम्म घाम नलाग्दा गहुँ, आलु र तरकारी बालीको वृद्धि प्रभावित भएको थियो भने खेतमा काम गर्नसमेत कठिनाइ भएको थियो।आज घाम देखिएपछि बालीमा सुधार आउने आशा पलाएको छ, अब खेतको काम पनि अघि बढ्नेछ,उहाँले भन्नुभयो।
यस्तै गौशाला नगरपालिका–१० गौशालाका किसान मनिकलाल महतोले पनि लामो समयसम्म घाम नलाग्दा कृषकहरू समस्यामा परेको बताउनुभयो।कुहिरो र चिसोले गहुँ, आलु र तरकारी बालीमा असर पारेको थियो,उहाँले भन्नुभयो, आज घाम देखिएपछि बाली जोगिने आशा बढेको छ, अब खेतको कामले गति लिनेछ।
घाम लागेसँगै बजार क्षेत्र तथा सार्वजनिक स्थानमा चहलपहल बढेको छ। स्थानीय बासिन्दाले लामो समयपछि न्यानोपन महसुस गर्न थालेका छन्। औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले लामो समयसम्मको शीतलहर र कुहिरोले स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार चिसोका कारण बजारमा कारोबार घटेको थियो भने दैनिक ज्यालादारीमा निर्भर श्रमिक र साना व्यवसायीहरू बढी मारमा परेका थिए।आज घाम लागेसँगै बजारमा गतिविधि बढ्न थालेको छ, यसले व्यापार–व्यवसाय क्रमशः लयमा फर्किने अपेक्षा गरिएको छ,उहाँले भन्नुभयो।
मौसमविद्हरूका अनुसार आगामी केही दिन घाम लाग्ने सम्भावना रहे पनि बिहान र बेलुकी चिसो यथावत् रहने देखिन्छ। यसैबीच स्वास्थ्यकर्मीहरूले अझै केही दिन चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।


