महोत्तरी – महोत्तरी जिल्लाको गौशाला बजार सोमबार दिउँसोदेखि अस्थिर बनेको छ। स्थानीय सुरक्षा र जनधनको संरक्षणका लागि बजार क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।
स्थानीय तरकारी व्यापारी रामदयाल साह र समीर गेष्ट हाउसका संचालक साबिर हुसेनबीच बालकसम्बन्धी विवादले ठूलो झडपको रुप लिएको हो। दिउँसो करिब ५ बजे सुरु भएको विवादमा स्थानियहरुले गेष्ट हाउसमा तोडफोड गर्ने प्रयास गरेका थिए। घटना नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय जलेश्वर, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीले संयुक्त रूपमा सुरक्षा व्यवस्था गरेका छन्।




विवादको सुरुवात यस्तो थियो: साबिर हुसेनको पालिएको कुखुरा रामदयाल साहको पसलमा पुगेपछि साहका नाति अनीष (९) ले कुखुरा नियन्त्रणमा लिएको थियो। केही समयपछि बालक नआएपछि साहले बालकलाई हुसेनको परिवारले नियन्त्रणमा राखेको दाबी गरे। उनले भने, “साबिरले बालकलाई बन्धक बनाउने प्रयास गरेको थियो।

आफू समयमै पुगेपछि बालकलाई मुक्त गरिएको हो।”साबिर हुसेनले भने, विवाद सामान्य रहेको अवस्थामा तरकारी व्यापारीले अनावश्यक भीड जम्मा गरी स्थिति बिगारेको आरोप लगाएका छन्। उनीहरूले पनि आफ्नो परिवारको सुरक्षा र प्रतिष्ठामा क्षति पुगेको गुनासो गरेका छन्।उक्त घटनापछि साँझको समयमा गेष्ट हाउसमा अनियन्त्रित भीडले आगो लगाउँदै तोडफोड गरेको छ। भवनमा जडान गरिएका सीसाहरू फुटेका छन् भने व्यानर र फ्लेक्स बोर्डहरू च्यातिएका छन्।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रकाश बम नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिएको महोत्तरी प्रहरी प्रमुख एसपी हेरेम्ब शर्माले जानकारी दिए। उनका अनुसार, बारुणयन्त्र (दमकल) प्रयोग गरी थप क्षति हुनबाट जोगाइएको छ। साबिर हुसेन र उनका परिवारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

एसपी शर्माले भने,“घटनाको सूक्ष्मतासाथ अनुसन्धान भैरहेको छ। दोषी प्रमाणित भए कानुन बमोजिम सजाय दिइनेछ। रात्रीकालिन समयमा पनि बजारमा सुरक्षा कडा गरिएको छ र सर्वसाधारणलाई अनावश्यक घर बाहिर ननिस्कन सचेत गराइएको छ।”






