महोत्तरी – राजनीतिक दलका कार्यकर्ताबीच दोहोरो झडप भएपछि स्थगित भएको महोत्तरीको बर्दिवासस्थित प्रेमनगर मतदान केन्द्रमा मतदान प्रक्रिया पुनः सुचारु गरिएको छ।

एक व्यक्तिले प्रतिनिधिका रूपमा पटक–पटक मतदान गर्न खोजेको आरोप लागेपछि दुई पक्षबीच विवाद उत्पन्न भई झडपको अवस्था सिर्जना भएको थियो। सो घटनापछि उक्त केन्द्रमा करिब दुई घण्टासम्म मतदान कार्य स्थगित गरिएको थियो।दुवै पक्षबीच छलफल गरी सहमति जुटाइएपछि मतदान प्रक्रिया पुनः सुरु गरिएको मतदान अधिकृत रामचन्द्र यादवले जानकारी दिए।




यसैबीच, जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार जिल्लाभर हालसम्म ६२ हजार ९ सय १३ मतदाताले मतदान गरिसकेका छन्। मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको र हाल जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको कार्यालयले जनाएको छ।





