नकुल अर्याल
काठमाडौं । डडेल्धुराको स्थानीय राजनीतिमा मन नमिलेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा निवर्तमान जिल्ला सभापति कर्ण मल्ललाई पार्टीबाट हटाउन चाहन्थे । प्रदेशसभामा २०७४ को निर्वाचनमा जित्ने एक्लो नेता थिए कर्ण मल्ल ।
कुनैबेला देउवाकै सचिवालयमा हर्ताकर्ता भएपनि देउवापत्नी आरजु राणासँगको खटपटले मल्ल र देउवाको सम्बन्ध पनि सुमधुर थिएन । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा सभापति देउवाले कर्ण मल्ललाई कांग्रेसबाट निष्कासन गर्नैपर्ने तर्क गरे ।



रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइराला लगायतका नेताले मल्ललाई सम्झाई बुझाई गर्न सुझाए । देउवा कुनै हालतमा कारवाहीको मुडमा देखिएपछि एक नेताले भने – प्रदेशसभा जितेको मान्छे हो । तपाईपछि पनि डडेल्धुरामा कांग्रेसले जित्नुपर्छ । कर्णलाई कारवाही नगरौं ।
जवाफमा देउवाले भने– ‘मबाहेक डडेल्धुरामा कांग्रेसको कसैले चुनाव जित्दैन ।’
देउवाले अडान लिएपछि नेताहरुको केही लागेन । कर्ण मल्लमाथि कांग्रेसले कारवाहीको निर्णय गर्यो ।
यसपटक डडेल्धुरामा देउवा उम्मेदवार बनेनन् । चुनाव छल्न उनी सिंगापुर गए । देउवाको अनुपस्थितिमा डडेल्धुरामा कांग्रेसले चुनाव जितेन । देउवा जिताउन सबैजसो चुनावमा सक्रिय भूमिका खेलेका नैनसिंह महर रास्वपा उम्मेदवार डा.तारा जोशीसँग पराजित रहे । आफूपछि डडेल्धुरामा कांग्रेसले नजित्ने देउवाको घोषणा मिल्न पुग्यो । कांग्रेसवृत्तमा चर्चा छ, आफ्नो बोली पूरा गराउन देउवाले सक्रिय भूमिका खेले ।
डडेल्धुरासहित सुदरपश्चिममा देउवाका खास निकटस्थहरुले कांग्रेस उम्मेदवारलाई अन्तर्घात गरे । त्यसका केही प्रमाणहरु अडियोकै रुपमा सामाजिक सञ्जालमा सार्वजनिक समेत भइसकेका छन् ।
‘अहिले गगनका २०–२५ जनाले पनि जितेनन् भने पो पार्टी शेरबहादुरको हुन्छ । सुदुरपश्चिममा गगनका उम्मेदवार नील भए पो शेरबहादुरको अस्तित्व रहन्छ । अनि २०८४ मा मध्यावधि चुनाव हुन्छ’, बैतडीका एक कांग्रेस नेताको सार्वजनिक भएको अडियो संवादमा भनिएको छ ।
देशभरका अधिकांश निर्वाचन क्षेत्रमा पार्टीकै जिम्मेवार नेताहरुले असहयोग गरेको गुनासो उम्मेदवारहरुले गरिरहेका छन् । ‘मेरो क्षेत्रमा निवर्तमान केन्द्रीय सदस्य उम्मेदवारी दर्तादेखि नै मसँग देखिनुभयो । २–४ दिन सँगै हिड्नुभयो तर उहाँका मान्छेहरु बुथमै घण्टीको प्रतिनिधि बसे । अधिकांशलाई रुखमा मत नहाल्न सर्कुलर गरियो’, चुनाव हारेका काठमाडौंका एक कांग्रेस उम्मेदवारले नेपाल प्रेससँग भने ।
कांग्रेस केन्द्रीय कार्यालयले यतिबेला निर्वाचनको क्षेत्रगत रिपोर्ट लिइरहेको छ । प्रत्यक्षतर्फ १८ सीटमा जित हासिल गरेको कांग्रेस देशभरका ८४ सीटमा निकटतम प्रतिस्पर्धी रहेको छ ।
अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारसँगको हार फराकिलो भएका कारण अन्तर्घात मात्रै मुख्य कारण नदेखिएपनि चुनावी माहोल बिगार्नमा अन्तर्घात नै मुख्य कारण रहेको कांग्रेसको निष्कर्ष छ ।
कांग्रेस महामन्त्री गुरुराज घिमिरे पार्टीका लागि चुनावी परिणाम अनपेक्षित रहेको बताए । ‘हाम्रा लागि यस्तो चुनावी परिणाम सम्पूर्ण रुपमा अनपेक्षित, अकल्पनीय र अप्रत्याशित हो । यसका धेरै कारण छन् । तीमध्ये एउटा कारण अन्तर्घात पनि हो ।
यसबारे हामी गम्भीर समिक्षा गर्छौ’, महामन्त्री घिमिरेले नेपाल प्रेससँग भने । उनले क्षेत्रहरुबाछ आएका प्रारम्भिक प्रतिक्रियामा पार्टी पंक्ति परिचालनमा एउटा पक्षले असहयोग गरेको जानकारी आएको बताए ।
कांग्रेसमा अन्तर्घात नयाँ विषय होइन । यद्यपि यसपटक विशेष महाधिवेशनको पक्ष विपक्षमा चुनावकै मुखमा कांग्रेस विभाजित थियो । निवर्तमान केन्द्रीय सदस्य जितजंग बस्नेत कांग्रेस हारको कारण अन्तर्घात नभएर विशेष महाधिवेशन रहेको बताउँछन् । चुनावको मुखमा विशेष महाधिवेशनका नाममा पार्टीभित्र धु्रवीकरण बढ्दा जनताले कांग्रेसको विकल्पमा मत दिएको उनको भनाई छ । ‘यस्तो चुनावमा अन्तर्घात गर्न कहाँ सम्भव हुन्छ । नियमित महाधिवेशन पक्षधर सबैले उम्मेदवारसँगै हिडेर रुखमा भोट मागेको देखेको छु । आफ्नो कमजोरी लुकाउन अरुलाई दोष दिन भएन नि’, बस्नेतले नेपाल प्रेससँग भने ।
अन्तर्घातको आरोप लगाएर पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने प्रयास हुनसक्ने भन्दै बस्नेतले गगन थापा र विश्वप्रकाश शर्माको अनुहार हेरेरपनि जनताले भोट नदिएको बताए । ‘शेरबहादुर देउवाको त अनुहार देखाएर भोट आउदैन भन्नुभएकै थियो । सभापति र उपसभापतिको अनुहार हेर्दापनि भोट आएनछ । अरुलाई के दोष दिनु ? सधै अरुलाई दोष दिएर उम्कनु राम्रो होइन’, बस्नेतको भनाई छ ।
कांग्रेसभित्र चुनावी पराजयसँगै पुरानो संस्थापन पक्षले सभापति गगन थापाको राजीनामा माग गरेका छन् । थापा पक्षले भने हारको कारण नयाँ नेतृत्व नरहेको भन्दै बचाउ गरिरहेको छ ।-नेपाल प्रेस




