सुजाता राई
विराटनगरमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित समालोचना सङ्ग्रह ‘अक्षरका यात्री’ को लोकार्पण सम्पन्न भएको छ। चैत्र ७ गते शनिबार एलिट क्लबको भवनमा आयोजित कार्यक्रममा साहित्यिक माहोल उल्लासमय बन्यो ।



कार्यक्रममा पूर्व अञ्चल प्राज्ञ प्रतिष्ठानका अध्यक्ष विवस पोखरेलको सभापतित्वमा रहेको थियो भने प्रमुख अतिथिका रूपमा समालोचक प्रा.डा. कृष्ण प्रसाद दाहालको अतिथ्यतामा सम्पन्न भएको थियो।

मन्तव्यका क्रममा प्राज्ञ खेम नेपाली, प्राज्ञ गंगा सुवेदी, बलराम पोखरेल तथा प्राज्ञ डा. मेदानी प्र. शर्मा ले कृतिको महत्व र समालोचना साहित्यमा यसको योगदानबारे धारणा राखे।
समालोचना सङ्ग्रह ‘अक्षरका यात्री’ मा विराटनगरका १६ जना साहित्यकारका कृतिमाथि १६ समालोचकद्वारा समीक्षा प्रस्तुत गरिएको छ। यो कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १११औं प्रकाशनका रूपमा सार्वजनिक गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्र र स्थानबाट आएका सयभन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन गोकुल पराजुलीले सम्हाले।





