महोत्तरी – महोत्तरी जिल्लाको जलेश्वर प्रादेशिक अस्पतालमा सुधार र व्यवस्थापन सुधारको माग गर्दै स्थानीय युवाहरूले आज स्वास्थ्य मन्त्री जंगीलाल यादवलाई ज्ञापनपत्र बुझाएका छन्।
आकाश कुमार साहको नेतृत्वमा पुगेको टोलीले अस्पतालमा व्याप्त भ्रष्टाचार, अव्यवस्था र दक्ष जनशक्तिको अभावप्रति मन्त्री यादवको ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि करोडौँ मूल्यका आईसीयू, भेन्टिलेटर र अन्य आधुनिक उपकरण खरिद भए पनि प्रयोगविहीन छन् भने व्यवस्थापन कमजोर रहेको छ। यस कारण सेवाग्राहीहरू सामान्य उपचारका लागि समेत जनकपुर, काठमाडौं र भारतसम्म जान बाध्य छन्।




स्थानीय युवाहरूले भर्खरै कार्यकाल सकिएको व्यवस्थापन समिति पूर्ण रूपमा असफल र अक्षम भएको आरोप लगाउँदै नयाँ समितिमा सक्षम, पारदर्शी र स्थानीय समस्या बुझेका व्यक्तिलाई नेतृत्व दिनुपर्ने माग राखेका छन्।
आकाश कुमार साहले चेतावनी दिँदै भने,“यदि अस्पताल व्यवस्थापनमा फेरि राजनीतिक हस्तक्षेप वा भागबण्डा गरियो भने म अनशन बस्न बाध्य हुनेछु। अबको नेतृत्व जनताको स्वास्थ्य र हितलाई प्राथमिकता दिने खालको हुनुपर्छ।”
ज्ञापनपत्रमार्फत युवाहरूले अस्पतालमा भएका अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्न, उपलब्ध उपकरणहरू तत्काल सञ्चालनमा ल्याउन र व्यवस्थापनमा जनभावना समेटिनुपर्ने मागसमेत गरेका छन्।
उनीहरूले चेतावनी दिएका छन् कि यदि यथास्थितिमा मात्र राजनीतिक स्वार्थ र पुराना प्रवृत्तिका व्यक्तिहरूलाई नेतृत्वमा राखियो भने कडा आन्दोलनमा उत्रिनेछन्।स्वास्थ्य मन्त्री यादवले ज्ञापनपत्र ग्रहण गर्दै यस विषयलाई गम्भीरतापूर्वक लिने र आवश्यक कदम चाल्ने आश्वासन दिएका छन्।
यस घटनाले जलेश्वर प्रादेशिक अस्पताल सुधारका लागि स्थानीय युवाहरूको सक्रियता र जनचेतना अझ स्पष्ट रूपमा देखाएको छ।





