सुजाता राई
विराटनगर । कण लघुकथा मञ्च बेलबारीको आयोजनामा विराटनगर–रामपुर चोकस्थित सिटी बोर्डिङ स्कुलमा शनिबार घुम्ती लघुकथा वाचन तथा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ।



कार्यक्रममा साहित्यकार रमेन्द्र कोइराला प्रमुख अतिथि तथा समीक्षकका रूपमा उपस्थित रहे भने दीप मंगरातीले अध्यक्षता गरे। पवित्रा सापकोटाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
अतिथिका रूपमा द्वारिका प्रसाद पोखरेल, ऋषि तिवारी, भुपाल अधिकारी, कुमार श्रेष्ठ, पुष्पा शायरा, केशव रिजाललगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न सर्जकद्वारा वाचन गरिएका लघुकथामाथि प्रमुख अतिथि कोइरालाले सैद्धान्तिक टिप्पणीसहित समीक्षा प्रस्तुत गरे। उनले लघुकथालाई कथाबाट पृथक बनाउन ‘पाँच एक’ को सूत्र आवश्यक हुने उल्लेख गर्दै उठान, उद्देश्य, घटना, परिवेश र समापन प्रत्येक एक–एक तत्वमा सीमित हुनुपर्ने धारणा राखे।
अध्यक्ष मंगरातीले लघुकथालाई साहित्यको मान्यता नदिँदै विभिन्न मञ्चमा वाचनबाट वञ्चित गरिएपछि आफूहरूले कण लघुकथा मञ्च स्थापना गरेको बताए। उनले लघुकथा अहिले स्थापित विधाका रूपमा विकसित भइसकेको उल्लेख गर्दै यसको सैद्धान्तिक पक्षमाथि प्रकाश पारे।
कार्यक्रम अन्त्यमा लघुकथा वाचनसहित सम्पन्न भयो।




