महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाले संघीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्दै विद्यालय तथा स्वास्थ्य संस्थाहरू साताको ६ दिन सञ्चालन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा प्रत्यक्ष असर पर्ने निष्कर्षसहित आइतबारसमेत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए । यसअनुसार नगरपालिकाअन्तर्गतका विद्यालय र स्वास्थ्य संस्थाहरू अब शनिबार बाहेक अन्य दिन पूर्ववत जस्तै नियमित रूपमा सञ्चालन हुनेछन् ।




संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालय पाँच दिन मात्र सञ्चालन गर्ने निर्णय गरे पनि स्थानीय तहले आफ्नो अधिकारक्षेत्र प्रयोग गर्दै सेवा प्रवाहमा निरन्तरता दिने निर्णय गरेको हो । नगर प्रमुख महतोले शिक्षा र स्वास्थ्य क्षेत्र दुई दिन बन्द हुँदा नागरिकले प्रत्यक्ष असर भोग्नुपर्ने बताए । उनको अनुसार विद्यालयमा पठनपाठनको निरन्तरता खण्डित हुने र स्वास्थ्य संस्थाहरू बन्द हुँदा बिरामीले समयमै उपचार नपाउने जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
उनले ग्रामीण तथा नगर क्षेत्रका नागरिक दैनिक स्वास्थ्य सेवामा निर्भर रहने भएकाले सेवा अवरुद्ध हुँदा थप जटिलता निम्तिन सक्ने उल्लेख गरे । “शिक्षा र स्वास्थ्य आधारभूत सेवा भएकाले यसमा अवरोध आउन नदिनु स्थानीय सरकारको दायित्व हो,” उनलेल भने ।

नगर कार्यपालिकाको निर्णयअनुसार वैशाख १० देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख १५ गतेदेखि नियमित कक्षा सञ्चालन हुने जनाइएको छ । साथै विद्यालय सुधार योजना निर्माण, शिक्षकको पेशागत क्षमता विकास तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
यसैबीच, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई पनि साताको ६ दिन सञ्चालन गरी अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराइने जनाइएको छ । नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिकाले संविधान २०७२ ले प्रत्याभूत गरेको शिक्षा तथा स्वास्थ्यसम्बन्धी मौलिक हक र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकारक्षेत्रभित्र रही उक्त निर्णय गरिएको जनाएको छ । यसबाट स्थानीय स्तरमा सेवा प्रवाहको पहुँच, गुणस्तर र निरन्तरता कायम रहने विश्वास लिइएको छ ।






