१४ वर्षीया एक दलित किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनुषाको क्षीरेश्वर नगरपालिका–९ की दलित किशोरीलाई स्थानीय महिला खुश्बुदेवीले खेतमा काम गर्ने प्रलोभनमा लगेर जयराम महतोको जिम्मा लगाएका थिइन् । धनुषा प्रहरीका अनुसार महतोले ती किशोरीलाई बसनियाँ खोला किनारमा लगेर जबर्जस्ती करणी गरेका थिए । रगतले लतपतिएकी किशोरीले प्रतिकार गर्दै चिच्याउन थालेपछि महतोले उनलाई औरही स्थित भिनाजु गंगा महतोको घरमा राखेका थिए । किशोरीको अवस्था बिग्रिन थालेपछि खुश्बुकै सहयोगमा उनलाई महतोले जनकपुर ल्याएका थिए ।



‘जनकपुरको पिराडी चोकस्थित डेराको घरमा किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरिएको थियो,’ धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी गणेशबहादुर बमले भने,‘बन्धक बनाइएको चौथो दिनमा घरबेटीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।’ बमका अनुसार तत्कालै पुगेको प्रहरी टोलीले किशोरीलाई अचेत अवस्थामा फेला पारेको थियो ।
‘किशोरीको मानसिक स्थिति समान्य थिएन । उनको यौनांगमा टाँका लगाइएको थियो,’ डीएसपी बमले भने,‘विभिन्न औषधि र नशालु पदार्थ खुवाएर किशोरीलाई अचेत पारिएको देखिन्छ । किशोरी अझै बोल्ने अवस्थामा छैनन् । सेफ हाउसमा राखेर उपचार भइरहेको छ ।’
जिल्ला प्रहरी कार्यालय धनुषाले शरीर बन्धक गरेर जबर्जस्ती करणी गरेको आरोपमा महतोलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ । धनुषा प्रहरीका डीएसपी बमका अनुसार किशोरी बन्धक र बलात्कार घटनामा सहयोगी भूमिकामा रहेका अरूको खोजीकार्य भइरहेको छ ।




