महोत्तरी – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, भरलेहनीस्थित मुसहर बस्तीमा गएराति करिब १२ बजे भएको एक घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलाएको छ।
स्थानीय बरेन्द्र सदाको घरमा दुई जना अपरिचित व्यक्ति जबरजस्ती प्रवेश गरी अन्दाजी २५ वर्षीया गौशाला ८(महिला)माथि कुटपिट गर्दै जबरजस्ती करणी गरेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ।




घटनाका क्रममा पीडितका तीन जना साना छोरीहरूलाई समेत कुटपिट गरिएको बताइएको छ। उनीहरू रोइरहेको अवस्थामा स्थानीयवासीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएका थिए।पीडितका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा भारतमा रहेको जनाइएको छ। पीडित गौशाला ८(महिला)ले घटनापछि न्यायको माग गर्दै आफू सुतिरहेको अवस्थामा घरभित्र प्रवेश गरी कुटपिट गर्दै जबरजस्ती गरिएको बताएकी छन्। साथै आफ्ना साना छोरीहरूलाई समेत आक्रमण गरिएको उनको भनाइ छ।घटनापछि इलाका

प्रहरी कार्यालय गौशालाले तत्काल अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न हुन सक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।इलाका प्रहरी कार्यालय गौशालाका इन्सपेक्टर रमेश लामाले घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै दोषीको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

घटनास्थलको मुचुल्का तयार गरी थप प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।घाइते गौशाला ८(महिला)को प्रारम्भिक उपचार गौशाला नगर अस्पतालमा गरिएको भए पनि अवस्था थप जटिल देखिएपछि उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले यस्ता अमानवीय घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् भने सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।प्रहरीले घटनाको सबै कोणबाट सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ।





