महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१ वडा कार्यालयमा दर्ता भएको स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण चिट्ठीको अभिलेख सुरक्षित अवस्थामा नभेटिएपछि स्थानीय युवाहरूले विरोध जनाएका छन्।
स्वास्थ्य कार्यालय महोत्तरीबाट स्वास्थ्य चौकी स्तरउन्नतिसम्बन्धी पठाइएको उक्त चिट्ठी वडा कार्यालयमा दर्ता भए पनि त्यसको प्रति कार्यालयमै सुरक्षित नरहेको विषय सार्वजनिक भएपछि स्थानीयवासी असन्तुष्ट बनेका हुन्।



जेनजी युवा मनोज कुमार चौधरीको नेतृत्वमा करिब २० जना युवाहरू वडा कार्यालय पुगेर दर्ता अभिलेख तथा कागजात व्यवस्थापनबारे जानकारी माग गरेका थिए।

स्थानीयवासीका अनुसार कार्यबाहक वडा अध्यक्ष शुशिल कुमार साहको मिलोमतोमा स्थानीय विजय कुमार यादवले दर्ता भएको चिट्ठी कार्यालयबाट लगेको आरोप लागेको छ। वडा कार्यालयका दर्ता–चलानी कर्मचारी सुरेश प्रसाद साहले समेत उक्त चिट्ठी कार्यालयबाट बाहिरिएको बताएका छन्।
युवाहरूले उपभोक्ता समिति गठन प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्। “आज बिहान ९ बजे उपभोक्ता समिति गठन गर्ने भनिएको थियो, तर समयअघि नै समिति गठन भइसकेको रहेछ। हामीलाई कुनै जानकारी दिइएन,” जेनजी युवा मनोज कुमार चौधरीले बताए।
घटनापछि वडा कार्यालय परिसर केहीबेर तनावग्रस्त बनेको स्थानीयले बताएका छन्। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।








