बर्दिवास । श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले श्रमको सम्मान नै सामाजिक रूपान्तरणको बलियो आधार भएको बताउनु भएको छ। उहाँले भन्नुभयो , “जब श्रमको सम्मान हुन्छ तब समाज पूर्ण रुपमा सम्पन्न हुन्छ। त्यसमा पनि महिला श्रमकोको सम्मान हुनु भनेको एउटा ठूलो रूपान्तरणको उदाहरण हो।”

८ औं राष्ट्रिय महिला अधिकार दिवस २०८३ का अवसरमा बर्दिबास नगरपालिकाले आयोजना गरेको श्रमिक महिला सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताउँदै उहाँले श्रम गरेर जीविकोपार्जन गर्ने २० जना उदाहरणीय श्रमिक महिलालाई सम्मान गरेकोमा बर्दिबास नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो ।




उहाँले बर्दिवास नगरपालिकाले गरेको यस्तो कामको अनुसरण अरु नगरपालिकाले पनि गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ” काम ठूलो सानो हुँदैन। कामको सम्मान गर्नुपर्छ। । कामको सम्मान गरेर व्यक्तिलाई सम्मान गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ।” उहाँले महिलाहरू घरको मात्र नीति निर्माणकर्ता नभएर राष्ट्रको नै नीति निर्माणकर्ता भएको बताउँदै महिला आत्मनिर्भर हुन सके मानसिक रूपमा कहिले दुःखी हुनु नपर्ने बताउनुभयो ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका सबै वडाबाट विभिन्न क्षेत्रमा सक्रिय तथा योगदान पुर्याउँदै आएका २० जना महिला श्रमिकहरूलाई छनौट गरी सम्मान गरिएको थियो। सम्मानित श्रमिक महिलाहरूलाई जनही रु. १० हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओढाइ सम्मान गरी उनीहरूको श्रम, योगदान र समर्पणको उच्च कदर गरिएको थियो।
यस कार्यक्रमले महिला श्रमिकहरूको हौसला अभिवृद्धि गर्नुका साथै श्रमको सम्मान र महिला अधिकारको प्रवर्द्धनमा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा सोही नगरपालिकाका उपप्रमुख तारादेवी महतो , प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी ,नगर प्रवक्ता विजयकुमार महतो लगायत महिला अधिकारकर्मी ,विभिन्न राजनीतिक दलका अगुवा महिलाहरूको उपस्थिति रहेको थियो
कार्यक्रमको अध्यक्षता नगरपालिकाका उपप्रमुख तारादेवी महतोले गर्नुभएको थियो।




