जनकपुरधाम । धनुषाको कमला नगरपालिका–३ स्थित लग्मा बजारमा नेपाली सेनाले निर्माण गरेको आरामस्थल (प्रतीक्षालय) तथा शुद्ध खानेपानी सुविधा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको महेन्द्रनगरस्थित श्री विष्णु दल गणले ‘शीघ्र प्रभावी आयोजना’ अन्तर्गत करिब १० लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरेको उक्त संरचना बिहीबार आयोजित एक समारोहबीच कमला नगरपालिका र स्थानीय बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।



कार्यक्रममा नेपाली सेनाको मध्य पूर्वी पृतना बर्दिबासका पृतनापति भुवन खत्रीले आयोजना औपचारिक रूपमा हस्तान्तरण गर्दै नेपाली सेना मुलुक र नागरिकको हितमा समर्पित रहँदै जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
रिद्धिसिद्धि देवी माता मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा लग्मा बजारको हाटबजारमा आउने सर्वसाधारणलाई लक्षित गरी निर्माण गरिएको प्रतीक्षालय र खानेपानी सुविधाले स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरिएको छ ।
आयोजना ग्रहण गर्दै कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले ग्रामीण क्षेत्रमा नागरिकको दैनिक आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण गरेकोमा नेपाली सेनाप्रति आभार व्यक्त गरे । उनले स्थानीय सरकारका लागिसमेत उपयोगी हुने खालका संरचना निर्माण भएको बताए ।
उद्घाटनसँगै स्थानीयवासीले खानेपानी र विश्रामस्थलको सुविधाबाट राहत महसुस भएको बताए । कार्यक्रमको अवसरमा वृक्षारोपणसमेत गरिएको थियो ।
समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, विष्णु दल गणका गणपति खिलेन्द्र राज अमगाई, नेपाली सेनाका विभिन्न गणका प्रतिनिधि तथा स्थानीय समाजसेवी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।





