महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना सांसद आज मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन्। प्रदेशका केही जिल्लामा विकसित पछिल्लो तनाव तथा त्यसको समाधानका उपायबारे प्रदेश सरकार र सुरक्षा निकायका अधिकारीसँग छलफल गर्न उनीहरू जनकपुरधाम आउन लागेका हुन्।
पार्टी स्रोतका अनुसार सांसदहरू पुरुषोत्तम यादव (सिरहा), प्रमोदकुमार महतो (महोत्तरी) र रहबर अन्सारी (बारा) आज दिउँसो १२ः४० बजे हवाईमार्गबाट जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ।



जनकपुरधाम आएपछि उनीहरूले मधेश प्रदेश सरकारका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीसँग संयुक्त रूपमा छलफल गर्ने जनाइएको छ। छलफलमा मधेश प्रदेशको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षासँग सम्बन्धित विषयमा विचारविमर्श हुने अपेक्षा गरिएको छ।
पछिल्ला दिनमा प्रदेशका केही जिल्लामा देखिएको तनाव, त्यसको प्रभाव तथा सम्भावित समाधानका उपायबारे छलफल केन्द्रित हुने बताइएको छ। यद्यपि, बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक गरिएको छैन।
रास्वपाका सांसदहरूको प्रदेश सरकार तथा सुरक्षा निकायसँगको भेटलाई पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने र समाधानका लागि आवश्यक पहलका रूपमा हेरिएको छ।





