जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चालु आर्थिक वर्षका लागि ६ करोड रकम विनियोजन गरेको छ ।
ट्रमा सेन्टर अन्यत्र सार्ने हल्लालाई लिएर विगत केही दिनदेखि विभिन्न पक्षबाट ढल्केवरमा विरोध प्रदर्शन भइरहँदा मन्त्रालयले ढल्केवरमा नै ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएको हो ।



धनुषाको ढल्केवरमा प्रदेश स्तरीय ट्रमा सेन्टरको निर्माण हुनेछ भने सिरहाको लहानमा पाँच शैय्याको ट्रमा युनिट मात्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।
२०७७–०७८ को नीति तथा कार्यक्रममा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा भए पनि वर्तमान सरकार आइसकेपछि गत ज्येष्ठ महिनामा बसेको मन्त्रीपरिषद् बैठकले क्रिटिकल क्लिनिक तथा ट्रमा सेन्टरका लागि जग्गा प्राप्ति गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
यसको साथै स्वास्थ्य मन्त्री निशा मेहताले आज सदनमा सम्बोधन गर्दै ढल्केवरमा प्रदेश स्तरीय ट्रमा सेन्टरको निर्माण हुनेछ भने सिरहाको लहानमा पाँच शैय्याको ट्रमा युनिट मात्र स्थापना गरिने जानकारी दिइएकी छिन् ।

पूर्व पश्चिम राजमार्गमा हुने गरेको दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरूलाई मधेश प्रदेशको केन्द्र ढल्केवरमा तत्काल उपचारका लागि ट्रमा सेन्टर स्थापना गर्ने निर्णय नेपाल सरकारले गरेको हो ।





