जनकपुरधाम। मैथिली तथा नेपाली भाषाका वरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. राजेन्द्रप्रसाद विमलको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको शोक वक्तव्यमा डा. विमलको निधनले नेपाली तथा मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ।



वि.सं. १९९४ चैत २६ गते जनकपुरको देवीचोकमा जन्मिनुभएका विमल बाल्यकालदेखि नै साहित्यप्रति गहिरो रुचि र समर्पण राख्ने साहित्यकारका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले प्रारम्भिक शिक्षा हासिल गरेपछि पाँच वर्षकै उमेरमा सरस्वती माध्यमिक विद्यालयमा कक्षा ५ मा भर्ना भई नेपाली तथा मैथिली भाषामा उच्च शिक्षा हासिल गर्नुभएको थियो।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर केन्द्रीय क्याम्पसबाट प्रकाशित बुलेटिनको संस्थापक सम्पादक तथा नेपाल उद्योग वाणिज्य महासङ्घको बुलेटिनको सम्पादकका रूपमा समेत उहाँले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुभएको एमालेको वक्तव्यमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा सेवा प्रवेश गर्नुभएका विमल लामो समय प्राध्यापन तथा साहित्य सिर्जनामा सक्रिय रहनुभयो। उहाँले नेपाली, मैथिली, हिन्दी र अङ्ग्रेजी भाषामा दुई दर्जनभन्दा बढी शोधपरक तथा समालोचनात्मक कृति प्रकाशन गर्नुभएको थियो। उहाँका नेपाली तथा मैथिली भाषामा प्रकाशित कृतिहरू प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रममा समेत समावेश गरिएको वक्तव्यमा जनाइएको छ।
साहित्य तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका विमलले जगदम्बाश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, गमर फाउन्डेसन गोपालप्रसाद रिमाल सम्मान, वैद्यनाथ शुक्ल वैदेही मैथिली पुरस्कार, संस्कृति दर्शन प्रज्ञा पुरस्कार, मैनीली कथा पुरस्कार, कलाश्री पुरस्कार र विद्यापति पुरस्कारलगायत विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो।
एमालेले विमलको निधनले नेपाली तथा मैथिली साहित्यका साथै नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ। उहाँले साहित्य र संस्कृतिमार्फत नेपालको सांस्कृतिक एकतालाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याउनुभएको वक्तव्यमा उल्लेख गरिएको छ।
अध्यक्ष ओलीले पिताको निधनबाट शोकाकुल रहनुभएका सुपुत्र डा. आभास लाभ, श्री विभाष लाभलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।






