जनकपुरधाम । जनकपुरधाममा व्यवस्थित फलफूल बजार सञ्चालनका लागि गुठीको जग्गा २० वर्षका लागि उपलब्ध गराइएको छ ।
सम्झौताअनुसार जनकपुरधाम उपमहानगरपालिका–१२ कुवारामपुरमा रहेको गुठीको २ बिघा २ कठ्ठा २ धुर जग्गा फलफूल बजार सञ्चालनका लागि उपलब्ध गराइएको हो ।



जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका सल्लाहकार नवीन साहका अनुसार गुठीको उक्त जग्गा २० वर्षका लागि बजार सञ्चालन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौतामा संघका अध्यक्ष विशेश्वर यादवले औपचारिक रूपमा हस्ताक्षर गरेका छन् ।
हाल जनकपुरधाममा फलफूल तथा तरकारीको कारोबार विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदै आएको अवस्थामा नयाँ बजार सञ्चालन भएपछि व्यवसायलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
बजारका लागि पर्याप्त क्षेत्रफल उपलब्ध भएकाले व्यवसायी तथा उपभोक्तालाई समेत सहज हुने संघको विश्वास छ ।
सम्झौतापछि कुवारामपुरस्थित उक्त जग्गामा आवश्यक पूर्वाधार निर्माण तथा बजार सञ्चालनको प्रक्रिया अघि बढाइने बताइएको छ ।





