महोत्तरी – रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि महोत्तरीका नौ जना सम्पर्कविहीन भएका छन् । बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेका उनीहरूको विवरण जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको हो ।
सम्पर्कविहीन हुनेमा बर्दिबास नगरपालिका–३ का मेकानिकल इन्जिनियर सौभाग्य बिष्ट, बर्दिबास–९ का जोया राना मगर, गौशाला नगरपालिका–३ रामनगरका विजय थापा मगर, पिपरा गाउँपालिका–३ का इन्जिनियर विकास यादव, औरही नगरपालिका–९ का सचिनकुमार यादव, जलेश्वर नगरपालिका–१० सारीका सुशिललाल दास, जलेश्वर–९ का राकेशकुमार यादव, लोहरपट्टी नगरपालिका–७ का युवराज पाण्डे र गौशाला नगरपालिका–८ का सितल लुङ्गेली छन् ।



जिल्ला प्रशासनको विवरणअनुसार बिष्ट, राना मगर र थापा मगर रसुवास्थित २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिए । बाढीपछि आयोजनास्थलमा कार्यरत उनीहरूसँग सम्पर्क हुन नसकेको हो ।
पिपरा–३ का इन्जिनियर विकास यादव त्रिशूली हाइड्रोपावरमा कार्यरत रहेको र बाढीपछि सम्पर्कविहीन भएको प्रशासनले जनाएको छ । उनको खोजीका लागि प्रहरीमा समेत अनुरोध गरिएको विवरणमा उल्लेख छ । औरही–३ का सचिनकुमार यादव चिलिमे सब–स्टेसनमा कार्यरत थिए ।
जलेश्वर–१० का सुशिललाल दास पर्यटक गाडीका चालकका रूपमा कार्यरत थिए । रसुवातर्फ गएको अवस्थामा बाढीपछि उनी सम्पर्कविहीन भएका हुन् । जलेश्वर–९ का राकेशकुमार यादव भने मधेश प्रदेश ०२–००७ प ८८७ नम्बरको सेतो मोटरसाइकलमा रसुवा घुम्न गएको अवस्थामा सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ ।
लोहरपट्टी–७ का युवराज पाण्डे नुवाकोटको चिसापानी क्षेत्रमा रहेको र बाढीपछि सम्पर्क हुन नसकेको जनाइएको छ । गौशाला–८ का सितल लुङ्गेली रसुवाको हाकुबेँसीबाट सम्पर्कविहीन भएको प्रशासनको विवरणमा उल्लेख छ ।
सम्पर्कविहीन भएका व्यक्तिका परिवार तथा आफन्तले उनीहरूको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । बाढीका कारण रसुवाका विभिन्न स्थानमा सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेकाले प्रभावित क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ ।
रसुवा तथा आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी भइरहेको छ । महोत्तरीबाट रोजगारी तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका थप व्यक्तिको अवस्थाबारे समेत खोजी तथा विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




